Kathmandu Press

कुपण्डोलकाे प्यासिफिक क्लिनिकमा पत्रकारलाई ओपिडीमा ५० प्रतिशतसहित अन्य छुट सुविधा

महासंघका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा. कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
कुपण्डोलकाे प्यासिफिक क्लिनिकमा पत्रकारलाई ओपिडीमा ५० प्रतिशतसहित अन्य छुट सुविधा

काठमाडाैं, मंसिर २१ : नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा आबद्ध सबै पत्रकारले ललितपुरको कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकमा ओपिडीमा ५० प्रतिशत छुट पाउने भएका छन्। त्यसैगरी उनीहरूलाई प्रयोगशालामा ४० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी पनि भएकाे छ।

महासंघ प्रतिष्ठान प्रदेश र ललितपुरको कुपण्डोलिस्थत प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएसँगै पत्रकारहरूले त्यस्तो सुविधा पाउने भएका हुन्।

Hardik ivf

महासंघका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा. कजन रानाभाटले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहाल र प्रतिष्ठान प्रदेशका महासचिव रामकुमार शाहीको समेत उपस्थिति थियो।

प्रतिष्ठान प्रदेशद्वारा आज (बुधबार) जारी विज्ञप्तिमा एक वर्षका लागि भएको सम्झौता मंगलबार (मंसिर २०) देखि लागु भइसकेको उल्लेख छ। प्रतिष्ठान प्रदेशका महासिचव रामकुमार शाहीले जारी गरेको विज्ञप्तिमा प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आबद्ध (हाल रहेका १ हजार ४६७ सदस्य पत्रकार) लाई परिचयपत्रका आधारमा छुटको सुविधा दिने समझदारी भएको छ।

क्लिनिका प्रबन्ध निर्देशक डा कजन रानाभाटले प्रतिष्ठानमा आबद्ध पत्रकारका आश्रित परिवारका तीनजनासम्म सदस्यलाई पिन उक्त छुट उपलब्ध हुने बताएका छन्। डा. रानाभाटले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशसँग द्विपक्षीय सम्झौता गर्न पाउँदा खुसी लागेको बताए। उनले यसले आफ्नो व्यवसाय विस्तारमा टेवा पुग्नुका साथै श्रमजीवी पत्रकारहरूलाई उपचार सेवामा राहत मिल्ने बताए।

क्लिनिकमा प्रजनन स्वास्थ्य सेवा, कलेजो प्रत्यारोपण सेवा, स्त्री तथा प्रसूति सेवा, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु रोग, सामान्यदेखि जटिल अप्रेसन सेवा, दन्त उपचार सेवा, मनोपरामर्श तथा उपचार, मिर्गौला सम्बन्धी उपचार सेवा, नाक, कान, घाँटी, बालरोग, स्नायु सेवा, टेस्टयुब बेबी, छाला सम्बन्धी सेवा, फिजियो थेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याबसम्बन्धी सेवा उपलब्ध रहेको डा रानाभाटले बताए। ब्रेन स्ट्रोक भएको व्यक्तिलाई ७ घन्टाभित्र क्लिनिकमा पुर्‍याए पुरानै अवस्थामा फर्काउन सकिने डा. रानाभाटले बताए। 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले प्रतिष्ठान प्रदेशले राम्रो कामको सुरुआत गरेको भन्दै प्रशंसा व्यक्त गरे। उनले यस किसिमको समझदारीले खासगरी श्रमजीवी पत्रकारहरूलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास व्यक्त गरे।

प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले नेपालको स्वास्थ्योपचार सेवा महंगो बन्दै गएका बेला प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकजस्तो आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदायकसँग समझदारी गर्न पाएकोमा खुसी लागेको बताए। उनले छुट सुविधाबाट प्रतिष्ठान आवद्ध सबै श्रमजीवी पत्रकारहरूलाई राहत मिल्ने विश्वास व्यक्त गरे।                                               
 

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्