धानको समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै किसान महासंघद्वारा आन्दोलनकाे घोषणा
नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै सरकारबिरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिएको हो।
काठमाडाैं, मंसिर २१ : सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सयुक्त रुपमा आन्दोलन घोषणा गरेका छन्।
नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै सरकारबिरुद्ध विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी दिएको हो।
महासंघले किसानको समस्याबारे प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाउने जनाएको छ । कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्दै मोटा धानको मुल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए।
किसान आन्दोलनको दबाबका कारण भएपनि धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भएपनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यपारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको उनले बताए। धानबाली भित्राउने समय शुरु हुनासाथ धान खरिद प्रकृया अगाडी बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यपारीकहाँ पुग्न लाग्दासम्म धान खरिद गर्ने सरकारको निकाय मुखदर्शक बनेर बस्नु दुखद भएको अध्यक्ष दंगालले बताए।
महासंघले आन्दोलनको कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा धर्ना दिने, मंसिर २५ गते खाद्य कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिँदै तालाबन्दी गर्ने जनाएको छ। निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ।












