भरतपुरका ३५ हजार घरधुरी खानेपानीको पहुँचमा

भरतपुर, मंसिर २० : भरतपुर महानगरपालिकाभित्र रहेका ३५ हजार घरधुरी महानगरबाट प्रदान गरिएको खानेपानीको पहुँचमा पुगेका छन् । यी घरमा बस्ने दुई लाख ३५ हजार जनता प्रत्यक्ष प्रभावित भएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । पछिल्लो चार वर्षमा भरतपुर खानेपानी बोर्डमा १५ हजार घरधुरी थप भएका छन् ।
अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा विसं २०७४ मसान्तयता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ खानेपानी आयोजनाको निर्माण एवं मर्मत सम्भार भएका छन् । सो अवधिमा करिब रु तीन अर्ब ७७ करोड खानेपानीको क्षेत्रमा विनियोजन भएको छ । महानगरपालिकाले दीगो विकासको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको छ । महानगरपालिकाले सात हजार लिटरसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भएसँगै गरिब तथा विपन्न नागरिकलाई सहुलियत दिने उद्देश्यले निःशुल्क खानेपानी उपलब्ध गर्ने निर्णय गरेका थिए। नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहुँचलाई तीव्र रुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख दाहालले बताए। भरतपुरमा केही वर्षअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने समस्या टरेर गएको उनले बताए। अबको केही समयमै शतप्रतिशत भरतपुरवासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजना निर्माणधीन रहेको उनको भनाइ छ ।
भरतपुरका २९ वडामा खानेपानीको ठूला–ठूला आयोजना निर्माण सम्पन्न भएका छन् भने निर्माणाधीन, विस्तृत अध्ययन प्रतिवेदन हुँदै गरेका र सञ्चालनमा आउन बाँकी काम अगाडि बढाइएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका अनुसार विसं २०७४ पछि बोर्ड र महानगरपालिको सहकार्यमा वडा नं ९, ११ र १२ मा सेवा क्षेत्र रहने गरी रु २२ करोडको धनगढा सहलगानी खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका–२२, १३ र १४ सेवा क्षेत्र रहने गरी रु तीन करोडको पटिहानी खानेपानी आयोजना सञ्चालनमा आएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं ६ र १३ सेवा क्षेत्र रहने गरी रु चार करोड ६४ लाखको देवनगर खानेपानी आयोजनामा दुई वटा ओभरहेड ट्ङ्याकी र २ वटा डिप वोरिङसहित पाइपलाइन विस्तार कार्य भई यो आर्थिक मसान्तभित्र घरघरमा खानेपानी पुग्ने उनले जनाकारी दिए।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका–१५ सेवा क्षेत्र रहने गरी रु तीन करोड ६० लाखको मङ्गलपुर खानेपानी आयोजनामा ओभरहेड टङ्याकी र डिप वोरिङसहित पाइपलाइन विस्तार भई आयोजना सञ्चालनमा आएको उनले बताए।
नेपाल सरकार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवन र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सह–लगानीमा दुई वटा ओभरहेड ट्ङ्याकी र दुई वटा डिप वोरिङसहित करिब ७२ किमी पाइपलाइन विस्तारसहित भरतपुर महानगरपालिका वडा नं १० र ११ सेवा क्षेत्र रहने गरी रु २८ करोडको जखडिमाई सह–लगानी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत सहरी खानेपानी आयोजनामार्फत भरतपुर महानगरपालिका वडा नं ९ र ६ सेवा क्षेत्र रहने गरी गौरीगञ्ज खानेपानी आयोजना रु दुई करोडको सर्वेक्षण सम्पन्न भई विस्तृत अध्ययन प्रतिवेदन तयारी भई प्रक्रिया अगाडि बढेको छ । भरतपुर महानगरपालिका वडा नं १५ को फुलवारी खानेपानी आयोजना रु दुई करोड ६९ लाखको हस्तान्तरण लिई १० किमि पाइपलाइन विस्तार गरी सञ्चालनको तयारी अवस्थामा रहेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत एकिकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत एसियली विकास बैंकको सहयोगमा भरतपुर महानगरपालिका वडा नं १ को रामनगर, ठिमुरा, देवघाट र भरतपुरका केही क्षेत्र मुख्य सेवा क्षेत्र रहने गरी भरतपुर महानगर र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँग सहकार्यमार्फत जुगेडी खोलाको मुहानबाट पानी उपयोग हुने गरी आयोजनाको चालु आवको अन्त्यमा विस्तृत अध्ययन प्रतिवेदन तयार हुने सम्झौता भएको छ ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डको आन्तरिक लगानीमा वार्षिक रुपमा खानेपानी विस्तार कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका वडा नं १ देखि १५ र वडा नं २२ समेतका सेवा क्षेत्रमा पाइपलाइन विस्तार गरी सेवा वृद्धि गरिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं १ हेटौँडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा भरतपुर महानगरपालिका वडा नं ५ को कैलाशनगर रु दुई करोड ७१ लाख, आनन्दपुरमा रु दुई करोड ४९ लाखको र वडा नं १५ को मङ्गलपुरमा ओभरहेड ट्ङ्याकी निर्माणसहित पाइपलाइन विस्तार कार्य सम्पन्न भई सेवा सुचार भएर सञ्चालनमा आएको महानगरले जनाएको छ।