Kathmandu Press

प्राध्यापक नियुक्ति विवादित, क्याम्पसका प्रमुखलाई स्पष्टीकरण

प्राध्यापक नियुक्ति विवादित, क्याम्पसका प्रमुखलाई स्पष्टीकरण
Hardik ivf

काठमाडौं, मंसिर २० : निर्वाचन आचारसंहिता जारी भएकै समयमा धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस प्रशासनले गरेको १५ जना प्राध्यापकको नियुक्ति विवादमा परेको छ । मापदण्ड मिचेर पहुँच र प्रभावको बलमा आफ्ना नजिककालाई नियुक्ति गरिएको भन्दै आंशिक प्राध्यापकको असन्तुष्टि बढेको बेला निर्वाचन आचारसंहिता जारी रहेकै समयमा करार सेवामा गरिएको प्राध्यापकको नियुक्ति विवादित भएको हो । निर्वाचन आयोगले क्याम्पसका प्रमुख धर्मराज उपाध्यायलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जनाइएको छ। 
 
क्याम्पस प्रमुख उपाध्यायले भने आफूलाई आयोगबाट स्पष्टीकरण सोधिएको भन्ने सुनिए पनि लिखित जानकारी नआएको बताए। उनले भने, ‘मङ्सिर ४ गते चुनाव भइसकेपछि क्याम्पसको आन्तरिक विषय भएकाले नियुक्ति गर्न मिल्ने महसुस गरेर नियुक्ति दियौँ, तर केही समय नपर्खेर हामी यसमा अलि कति चुक्यौँ की भन्ने लागेको छ।’ 
 
आचारसंहिताको समय नसकिँदै क्याम्पसमा आंशिकरुपमा प्राध्यापन गर्दै आएका १५ शिक्षकलाई यही मङ्सिर ८ गते शिक्षण सहायक करार पदमा छनोट गर्ने निर्णय गर्दै क्याम्पस प्रशासनले करार पदमा नियुक्त गरेको हो । क्याम्पस प्रशासनले आफ्ना नजिकका र पहुँचवालालाई समेट्न सकिने गरी मापदण्ड बनाएर शिक्षक (प्राध्यापक)लाई करार पदमा नियक्त गरिएको भन्दै अन्य आंशिक प्राध्यापकमा असन्तुष्टि बढेको छ ।    
 
ज्येष्ठता र कार्यक्षमताको मापदण्डको पालना नगरी शक्ति र पहुँच पुगेकालाई करार सेवामा नियुक्ति दिएर बनाइएको मापदण्ड मिचिएको छनोटमा नपरेका एकजना ज्येष्ठ प्राध्यापकले बताए । क्याम्पस प्रमुख उपाध्यायले ज्येष्ठता, कार्यक्षमता, औचित्यता र कार्यभार गरी चार मापदण्ड बनाएर करारमा छनोट गरिएको र यसमा निष्पक्षता अपनाइएको दाबी गरे। 

क्याम्पस प्रमुख संयोजक रहेको छनोट समितिमा क्याम्पसका प्राध्यापक प्रेमराज भण्डारी, डा लोकबहादुर विष्ट, मोहनसिंह साउद सदस्य रहेको बताइएको छ । सुदूरपश्चिम विश्वविद्यालयले करार सेवामा नियुक्ति गर्न क्याम्पसलाई अनुमति दिएको थियो । क्याम्पस प्रशासनले विसं २०६९ देखि २०७३ सम्म सेवा सुरु गरेकालाई करारमा नियुक्तिका लागि छनोट गरेको दाबी गरे पनि विसं २०७३ पछि सेवा सुरु गरेकालाई पनि छनोट गरेको बताइएको छ ।
  
क्याम्पसले बनाएको पुरानो ‘मेरिट लिस्ट’ अनुसार नछानेर मेरिट लिस्टमा पछाडि परेका चार जनालाई समेत छनोट गरेपछि अन्य प्राध्यापकको असन्तुष्टि बढेको हो । क्याम्पस प्रशासनले समाज शास्त्र, व्यवस्थापन, बजार शास्त्र, भौतिक शास्त्र, नेपाली, वित्त शास्त्र, प्राणी शास्त्र, वनस्पति शास्त्र, तथ्याङ्क शास्त्र, लेखा शास्त्र, अङ्ग्रेजी र अङ्ग्रेजी शिक्षामा एक÷एक जना र अर्थशास्त्र तीन जना आंशिक प्राध्यापकलाई करार सेवामा छनोट गरी नियुक्ति गरेको हो।

निजी क्षेत्रको पहलमा विसं २०३८र३९ तिर स्थापना गरिएको कैलाली बहुमुखी क्याम्पसले दुई वर्षअघि मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो । क्याम्पसमा मानविकी, व्यवस्थापन, विज्ञान, कानुन, पत्रकारिता, शिक्षालगायतका पाँच वटा विधामा अध्ययन अध्यायपन हुने गरेको छ। 

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्