सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै डोटीका किसान
परम्परागत अन्नबालीबाट वर्षभरि खान पुग्ने भए पनि व्यावसायिक फलफूल खेतीबाट अन्नको जोहोसँगै मनग्य आम्दानी हुन थालेपछि डोटीका धेरै किसान सुन्तला खेतीतर्फ आकर्षित बन्न थालेका हुन्।काठमाडौं, मंसिर २० : हिउँद लागेसँगै बजारमा सुन्तला, मौसम, निबुवा कागतीलगायत फलफूलको माग निकै बढ्ने गर्छ। सुन्तला खेतीका लागि मध्यपहाडी भूभागमा पाइने हावापानी एकदमै उपयुक्त हुन्छ। उक्त क्षेत्रमा फल्ने सुन्तलाले बजारको माग केही हदसम्म धान्ने गरेको छ।
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीले पनि सुन्तलाको माग धान्न ठुलै मद्दत पुर्याउने गरेको छ। उपयुक्त हावापानी भएकैले पछिल्लो समय डोटीमा सुन्तला खेतीको विस्तार भइरहेको छ।
परम्परागत अन्नबालीबाट वर्षभरि खान पुग्ने भए पनि व्यावसायिक फलफूल खेतीबाट अन्नको जोहोसँगै मनग्य आम्दानी हुन थालेपछि डोटीका धेरै किसान सुन्तला खेतीतर्फ आकर्षित बन्न थालेका हुन्। अहिले जिल्लाका जोरायल गाउँपालिका, बोगटान गाउँपालिका, बडिकेदार गाउँपालिका र केआई सिंह गाउँपालिकामा व्यावसायिक हिउँदे फलफूल खेती विस्तार भएको छ।
‘हिउँदे फलफूल खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी गर्छु’
जोरायल गाउँपालिका–६ निरौलीका दिलीपबहादुर बोहोरा २०५२ सालदेखि हिउँदे फलफूल खेतीमा सक्रिय छन्। उनले व्यावसायिक रूपमा भने २०५८ सालदेखि मात्र फलफूल खेतीलाई निरन्तरता दिन थालेका हुन्। अहिले उनी हिउँदे फलफूल खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी गर्छन्।
२०५२ सालमा राष्ट्रिय फलफूल केन्द्र कीर्तिपुरबाट सुन्तलाका १५ बिरुवा लगेर फलफूल खेती थालेका हुन्। त्यसैबाट आम्दानी गर्न थालेपछि परम्परागत अन्नबाली लगाउन छाडेर बोहोराले फलफूल खेती विस्तार गर्दै लगेका हुन्। अहिले उनले आफ्नै ६५ रोपनी जमिनमा हिउँदे फलफूल सुन्तला, मौसम, निबुवा, कागती लगाएका छन्।
बोहराले २०५८ सालमा नर्सरी फार्म पनि दर्ता गरेका छन्। त्यसपछि उनले आफ्नै बारीबाट सुन्तला, कागती, मौसमलगायत फलफूल बिरुवा उत्पादन गर्र्दै आएका छन्। अहिले उनीसँग ६ वटा पोलिहाउस छन्। त्यहाँबाट सुन्तला, कागती, मौसमी, अनारलगायत बिरुवा उत्पादन गरी सुदूरपश्चिमका नौओटै जिल्लामा बिक्री हुने गरेको छ। उनले फलफूलको बिरुवा बिक्री गरेर वार्षिक १२/१३ लाख नाफा निकाल्ने गरेका छन्।
दिलीपले फलफूल खेतीबाट मनग्य आम्दानी त गर्छन् नै, साथै गाउँकै तीनजनालाई रोजगारी पनि दिएका छन्। गत वर्ष सुन्तलाबाट ६ लाख ६५ हजार, निबुवाबाट ३० हजार, कागतीबाट २० हजार आम्दानी भयो। यसरी फलफल बिक्री गरेरै गत वर्ष ७ लाख १५ हजार आम्दानी गर्न बोहोरा सफल भए।
सुरुआती दिनमा बाटोको अभावमा १ रुपैयाँमा ६, ७ दाना सुन्तला बिक्री गर्नुपरेको उनी सम्झन्छन्। ‘स्थानीय सरकारले ठाउँठाउँमा बाटो पुर्याएपछि तीन वर्षयता सुन्तलाले राम्रो मूल्य पाएको छ। यो वर्ष सुन्तला प्रतिकेजी ६० देखि ७० रुपैयाँका दरले घरमै आएर ठेकेदारले लाने गरेका छन्,’ उनी भन्छन्, ‘गत वर्षभन्दा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अपेक्षा छ।’
‘बोटले सुन्तला धान्न नसकेर हाँगाहरू भाँचिएका छन्’
डोटीको जोरायल गाउँपालिका–६ का लिलमकुमार साउँद पनि व्यावसायिक रूपमै हिउँदे फलफूल खेतीमा रमाइरहेका छन्। उनले व्यावसायिक फलफूल खेती थालेका १० वर्ष भयो।
त्यसो त उनका बाबुबाजेले करिब २० वर्षअघि पाँचसात बिरुवा सुन्तला रोपेका थिए। त्यसबाट आफैले खाएर केही गाउँघरमै बिक्री गर्ने गरिन्थ्यो। त्यही सुन्तला खेतीलाई साउँदले विस्तार गर्दै लगेका हुन्। अहिले उनले ५–६ रोपनी जमिनमा हिउँदे फलफूल खेती लगाएका छन्। त्यहाँ डेढ सयजति सुन्तला र डेढ सयजति कागती र निबुवाका बोट छन्।
यसरी व्यावसायिक रूपमै फलफूल खेतीमा जोडिँदै आएका साउँद पहिलेपहिले बाटोको अभावमा सुन्तला बिक्रीमा समस्या हुने गरे पनि अहिले हरेक ठाउँमा बाटो पुग्दा फलफूल बिक्रीका लागि कुनै समस्या नहुने बताउँछन्। ‘अहिले ठेकेदार बारीसम्मै आएर प्रतिकेजी रु. ६० को दरले फुलफूल किन्दै आएका छन्,’ उनले भने।
सिजनमा सुन्तला टिप्न दैनिक ज्यालादारीमा कामदार राख्ने गरे पनि अन्य समय परिवारका सदस्यको सहयोगले नै काममा सहज भएको उनको भनाइ छ। गत वर्ष खासै राम्रो सुन्तला उत्पादन नभएकाले ७ क्विन्टल सुन्तला, ५ क्विन्टल निबुवा र कागती उत्पादनबाट करिब १ लाख बराबरको आम्दानी मात्र गरेको उनले जानकारी दिए।
‘यो वर्ष सुन्तला निकै राम्रो उत्पादन भएको छ। बोटले सुन्तला धान्न नसकेर हाँगाहरू भाँचिएका छन्। यो वर्ष करिब १०÷१२ क्विन्टलसम्म सुन्तला उत्पादन हुने अपेक्षा छ।’
कृषक साउँदका अनुसार कृषि ज्ञान केन्द्रद्वारा कृषि उपकरण, सुन्तला टिप्न झोला र निःशुल्क बिरुवा वितरण हुँदैै आएकाले व्यवसायमा थप राहत मिलेको छ। ‘गत वर्ष कृषि समूह बनाएर ज्ञान केन्द्रमा सुन्तलाको माग गरेका थियौं, १५ सय बोट सुन्तला वितरण भयो। समूहका सबै सदस्यलाई बाँड्दा एक सदस्यको भागमा सय बोट बिरुवा पर्न आएको थियो,’ उनले भने।
‘डोटीमा ३१३ हेक्टरमा सुन्तला खेती’
अहिले जिल्लाभर करिब ३१३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए। यसैगरी जिल्लामा हिउँदे फलफूल खेतीअन्तर्गत मौसम १७२ हेक्टर, कागती ८८ हेक्टर, निबुवा २८१ हेक्टर गरेर जम्मा ८५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कार्यालय प्रमुख पनेरुको भनाइ छ।
‘हिउँदे फलफूल खेतीमा यति नै कृषक व्यावसायिक रूपमा जोडिएका छन् भन्ने यकिन विवरण ज्ञान केन्द्रमा उपलब्ध नभए पनि एक पालिकामा ३०० देखि ४०० कृषक संलग्न हुँदै आइरहेको आकलन छ,’ उनले भने।
उनका अनुसार सुन्तला खेतीका लागि तराईको माथिल्लो बेल्ट र उच्च पहाडको तल्लो बेल्टमा हावापानी एकदमै उपयुक्त हुन्छ। यसकारणले डोटीका चार पालिकामा करिब १५–२० वर्ष अघिदेखि नै सुन्तला खेती गरिँदै आएको उनले बताए।
अहिले नेपालले भारतबाट सुन्तला आयात गर्दै आएको छ। डोटीमा सुन्तला खेतीको अझै विस्तार गर्न सकियो भने बजारको कुनै समस्या नहुने उनी बताउँछन्। ‘अहिले ठुल्ठुला व्यापारीहरूले कृषकको घरदैलोमा आएरै सुन्तला खरिद गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘त्यसैले बजारीकरणको समस्या नभएकाले नै अन्नबाली लगाउन छाडेर हिउँदे फलफूल खेतीतर्फ कृषकको आकर्षण बढेको हो।’
कृषि ज्ञान केन्द्रबाट सहयोग
व्यावसायिक फलफूल खेतीलाई प्रोत्साहन गर्ने हेतु कृषि ज्ञान केन्द्र डोटीद्वारा कृषकको मागअनुसार हिउँदे फलफूलको बिरुवा निःशुल्क वितरण हुँदै आएको कार्यालय प्रमुख पनेरुले बताए।
अहिले ज्ञान केन्द्रद्वारा व्यावसायिक कृषकलाई तीन चरणमा रहेर सहयोग हुँदै आइरहेको उनी बताउँछन्। कार्यालय प्रमुख पनेरू भन्छन्, ‘पहिलो चरणमा उत्पादनका लागि कृषकलाई बिरुवा वितरण गर्ने गरिन्छ भने दोस्रो चरणमा कृषकको बगैंचा व्यवस्थापनका लागि कीटनाशक औषधि, काटछाँट गर्ने आरा, कैंचीलगायत सामग्री वितरण गरिन्छ। त्यस्तै बजारीकरणका लागि सुन्तला टिप्ने भ¥याङ र ब्याग पनि निःशुल्क वितरण गर्दै आएका छौं।’
उत्पादन तथा बजार
कृषि ज्ञान केन्द्रका प्रमुख पनेरूका अनुसार डोटीको मुख्य बजार फल्टुडे हो। उक्त बजारको व्यवस्था भएकै कारण डोटीका कृषकले फलफूल बिक्रीका लागि बजार खोज्दै कहीँकतै धाउनुपर्दैन, व्यवसायी आफैं खेतबारीसम्म आउने हुँदा डोटीका फलफूल कृषकलाई बजारको समस्या हुन्न।
उनका अनुसार गत वर्ष जिल्लाभरिमा सुन्तला, मौसमी, कागतीलगायत हिउँदे फलफूल ५ हजार मेट्रिक टन उत्पादन भएको थियो। सुन्तला मात्र ३५ सयदेखि ४ हजार मेट्रिक टनसम्म उत्पादन भएको उनले जानकारी दिए।
‘यो वर्ष हरेक कृषकको बारीमा राम्रो सुन्तला उत्पादन भएको छ,’ उनी भन्छन्, ‘राम्रो सुन्तला उत्पादन भएकाले अन्य वर्षहरूको तुलनामा कृषकले राम्रै आम्दानी गर्ने देखिन्छ।’