Kathmandu Press

तीन वर्षपछि फर्कियो आँखाको ज्योति

तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो। उपचारपछि आँखा देख्न सक्ने भएका उनी खुसीले निकै बेरसम्म नाचे। 
तीन वर्षपछि फर्कियो आँखाको ज्योति

सिन्धुपाल्चोक, मंसिर २० : पाँच पोखरी थाङ्पाल गाउँपालिका-६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी थिए।

तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो। उपचारपछि आँखा देख्न सक्ने भएका उनी खुसीले निकै बेरसम्म नाचे। 

तिलगंगा सामुदायिक आँखा केन्द्रले सोमबार मेलम्चीमा सञ्चालन गरेको निःशुल्क मोतिबिन्दु शिविरमा आएका उनी आर्थिक अवस्था कमजोर हुँदा तीन वर्षदेखि उपचार गर्न पाएको थिएन। 

लामा जस्तै आँखाको ज्योति फिर्ता पाएर खुसी हुनेको सङ्ख्या धेरै थियो। मेलम्ची नगरपालिका-१२ का बाबुराम भुजेलको आँखाको ज्योति पनि शिविरमा उपचार गराएपछि फर्किएको छ। शिविरमा आउँदा अरुको साहरामा आएका उनी घर भने ठमठम हिँड्दै फर्के। 

शिविरमा आएकी ७२ वर्षीय लीलामाया थापाले लामो समयदेखि आँखाले हेर्न पाएकोमा खुसी व्यक्त गरे। उनीसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ६५ वर्षीय निरमाई तामाङले पनि उपचार पाएकोमा शिविर आयोजना गर्नेलाई धन्यवाद दिए। 

मेलम्ची नगरपालिकाका साथै हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिकामा मङ्सिर नौ देखि १५ सम्म मोतिविन्दु छनोट शिविर सञ्चालन भएको थियो। शिविरमा आयोजकले एक सय जना बिरामीको खाजा, खाना र बस्ने व्यवस्थासहित उपचार गराएको थियो।

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्