Kathmandu Press

तोरी खेतीमा किसानको आकर्षण बढेन

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिए।
तोरी खेतीमा किसानको आकर्षण बढेन

गुल्मी, मंसिर २० : पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन। 

रेसुंगा नगरपालिका-५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। 'मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु,' उनले भने, 'तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन।' आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए। 

Hardik ivf

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहनत पनि गर्नुपर्दैन। असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ। तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन।

सोही स्थानका किसान चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएको बखत आफ्नो खेतबारीमा तोरी खेतीको उत्पादन घट्ने पिरलोमा हुन्। 'असोजमा तोरी छरियो, कात्तिक अन्तिमसम्म पनि पानी परेन,' उनी भन्छन्, 'बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन', उनले दुःखेसो गर्नुभयो। समयमा मल पाउने, बीउ पाउने र सिँचाइको सुविधा भएमा तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ।

रेसुङ्गा-४ का दीननाथ भण्डारीले आकाशे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताए। समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको भण्डारीको भनाइ छ। 'अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ,' उनी भन्छन्, 'मौसमी वर्षाका भरमा गरेको खेती एकनाश हुँदैन,' निराश हुँदै उनले भने।  

यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन। अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन्। बजारमा मूल्य आकाशिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ। तोरी खेतीमा पनि पर्याप्त मात्रामा किसानको आकर्षण छैन। आंशिकरूपमा खेती गरिरहेका किसान पनि विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन्। 

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिए। तेलहनको बजारभाउ बढेकाले तुलानात्मकरूपमा तोरी खेती गर्ने बढेको र अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उनले बताए। 

गत वर्ष गुल्मीको पाँच सय ८३ हेक्टर क्षेत्रफलमा पाँच सय ८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो। यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ। 'समयमा पानी पनि परेन, हुर्किन लागेको तोरीमा लाही किराको समस्या बढ्यो', उनले भने। तोरी खेतीको क्षेत्रफल केही बढे पनि विषादी प्रयोग गर्न नहुने कारणले उत्पादनमा ह्रास आएको उनले बताए। 

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्