अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु
दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो।
नवलपरासी, मंसिर १९ : नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ। यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ।
दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो।
इन्टरनेट सेवा प्रदायकलाई पटकपटक तार व्यवस्थापन गर्न आग्रह गरे पनि अटेरी गरेपछि बाध्य भएर तार काट्नु परेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए।
‘कार्यपालिका बैठकमार्फत तार व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन गरिएको हो’, खड्काले भने, ‘सदरमुकाम परासीमा इन्टरनेट र केबल तारका कारण बजार क्षेत्रको सौन्दर्यमा असर परेको छ।’
विद्युत् पोलको भुइँबाट टुप्पोसम्म तारले जेलिएको छ भने लत्रिएका तारले पैदल यात्रुलाई असर परेको छ । स्थानीयवासीले तार व्यवस्थापन गर्न नगरपालिकाको ध्यानआर्कषण गराउँदै आएका थिए।












