‘मतदाताले ठुलो अपेक्षा राखेर जिताउनुभएको छ, उहाँहरूको विश्वास टुट्न दिन्नँ’
काठमाडौं मंसिर १९ ः मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ आठजना मात्र महिला निर्वाचित भएका छन्। जसमा एमालेबाट चार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एकएक जना छन्।
नेपाली कांग्रेसबाट पाँचजनाले मात्र उम्मेदवारी दिएकोमा जित निकाल्ने सफल एकजना मात्र छन्। उनी हुन्, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सीता गुरुङ। उनले तेह्रथुमबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुब्बालाई पछि पार्दै पाँच वर्षका लागि संसद् प्रवेशको ढोका उघारेकी हुन्। पाँचदलीय सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी उनले जित दर्ता गर्ने क्रममा सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गरिन्।
गुरुङले ११ हजार ७०२ मत आफ्नो पक्षमा पार्दा सुब्बा १८ हजार ६२३ मतमै रोकिन बाध्य भए। २०७४ सालको आम निर्वाचनमा भने गुरुङ हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन्।
त्यसो त गुरुङले २०६४ र २०७० सालमा सम्पन्न पहिलो र दोस्रो दुवै संविधानसभामा समानुपातिकबाट सभासद चुनिएर संसदीय यात्रा नगरेकी होइनन्। यसपटकको विजयसँगै उनी तेस्रोपटक सांसदीय यात्रामा सहभागी हुँदैछिन्। तर प्रत्यक्ष रूपमा जनताबाट अनुमोदित भई उनी प्रतिनिधिसभा सदस्य बनेको भने दोस्रो प्रयासमा पहिलोपटक हो।
‘मबाट सही काम हुने अपेक्षा राखेर मतदाताले भोट दिएर जिताउनुभएको छ, म उहाँहरूको विश्वास टुट्न दिन्नँ,’ उनले भनिन्, ‘विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नेछु।’ १८ वर्षको उमेरदेखि नै अनवरत रूपमा राजनीतिक यात्रा गर्ने क्रममा उनले विभिन्न उतारचढावहरूको सामना गर्दै राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
उनी कहिले राजनीतिमा आइन् र कसरी सफलता पाइन्?
नवनिर्वाचित संघीय सांसद सीता गुरुङ २०३४ मंसिर २७ गते पिता पदमबहादुर र आमा टीकादेवीको सुपुत्री भएर तेह्रथुमको आठराई गाउँपालिका–४ (साबिक इवा गाविस–६) मा जन्मेकी हुन्। हाल उनको बसोबास काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ एकताबस्तीमा छ।
राजनीति शास्त्रमा स्नाकोत्तर उनले २०४८ सालमा स्कुले विद्यार्थी छँदै राजनीतिको पहिलो पाइला चालेकी हुन्। त्यतिबेला उनी तेह्रथुमको त्रिमोहन माध्यमिक विद्यालयमा पढ्थिन्। तर २०४६ सालको जनआन्दोलनताका खबरपत्र ओसारपसारमा संलग्न रहेको घटनालाई पनि उनी भुल्न सक्दिनन्। खबरपत्र ओसारपसार गरिरहँदा उनलाई हल्काफुलका राजनीति बुझ्ने अवसर मिलेको उनले बताइन्।
उनी पढ्ने विद्यालयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सक्रिय थियो। सोही संगठनमा आबद्ध भएर आफूले राजनीतिक यात्रा प्रारम्भ गरेको उनी बताउँछिन्। ‘२०४७ सालमा नेविसंघसँग जोडिएँ। २०४८ सालमा जिल्ला नेवासंघको तेह्रथुम सचिव भएँ,’ उनले भनिन्, ‘त्यसपछि आजसम्म राजनीतिक यात्रालाई निरन्तरता दिइरहेकी छु।’
तर आफ्नो राजनीतिक यात्राले तीव्रता भने २०५४ सालदेखि पाएको उनले सुनाइन्। २०५४ सालमा उनी कांग्रेसका युवाहरूको संगठन नेपाल तरुण दलमा जोडिएर तेह्रथुम जिल्ला कोषाध्यक्ष भइन्। त्यसको एक वर्षपछि २०५५ सालमा उनी नेपाल महिला संघमा पनि अबद्ध भइन् र जिल्ला सदस्य बनिन्।
‘राजनीतिक गति बढाउने क्रममा पार्टीका विभिन्न तहमा पुगें र पार्टी गतिविधिमा संलग्न हुँदै जनसेवा जुटें,’ गुरुङले भनिन्। उनी २०५७ सालमा महिला संघ जिल्ला सभापति बनेर नारीमा सचेतना जगाउने कार्यमा जुटिन्। २०५८ सालमा महिला संघको केन्द्रीय सदस्य बनेपछि जिल्लामा सीमित उनको राजनीतिले राष्ट्रिय आयाम ग्रहण ग¥यो। ‘२०६० सालमा महिला संघ केन्द्रीय सचिव भएँ,’ उनले भनिन्, ‘२०६२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेर पार्टी हाँक्ने नेतृत्व चयनमा सहभागी भएँ।’
२०६४ सालमा उनले नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकरणी सदस्य बन्ने अवसर पनि उनलाई प्राप्त भयो। सोही वर्ष उनी पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद् भएर संसद्मा प्रवेश गरेकी हुन्। ‘एउटै बाटोमा निरन्तर यात्रा गरिरहें। कठिनाइहरू पनि भोगें,’ उनले भनिन्, ‘महिलालाई राजनीतिक यात्रामा उकालो लाग्न धेरै गाह्रो हुने रहेछ।’ तर जस्तोसुकै कठिनाइ आए पनि लक्ष्यमा विचलित हुन नहुने उनको भनाइ छ।
महिलालाई हरेक कुरामा विकल्पका रूपमा मात्र हेरिने, महिलालाई कमजोर ठान्ने प्रवृत्ति अझै हटिनसकेको उनले बताइन्। ‘समाजमा पुरुषवादी अहंकार हाबी छ। महिला अघि बढेको नरुचाउने, पदीय हिसाबले माथि भएका महिलालाई सम्मान गर्न हिच्किचाउने अवस्था जताततै देखिन्छ।’ तथापि आफ्नो तर्फबाट सबैलाई समान व्यवहार गर्ने गरेको उनले बताइन्।
२०६५ सालमा राज्यको शासकीय स्वरूप निर्धारण समितिको सदस्यसमेत बनेकी उनी सोही साल अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा पनि जोडिइन्। २०६७ मा कांग्रेस महासमिति सदस्य, २०६७ मा कांग्रेसको १२औं महाधिवेनबाट केन्द्रीय सदस्य हुँदै २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा समानुपतिकबाट उनले सभासद् भएर दोस्रोपटक संसद्मा प्रवेश गरिन्। २०७० मै संविधान मस्यौदा समितिको सदस्यमा पनि उनी नियुक्त भइन्। सोही वर्ष राज्य व्यवस्था समितिको सदस्यको जिम्मेवारी निर्वाह गर्ने मौका पनि उनलाई मिल्यो। ‘सेवामा निरन्तर जुटिरहँदा जिम्मेवारी थपिँदै गएको महसुस भयो,’ उनले भनिन्, ‘निरन्तरको संघर्षबाट नीतिनियम बनाउने ठाउँसम्म पुग्न पाउँदा गर्व लाग्छ।’
२०७२ मा पनि कांग्रेसको १३औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य नै बनिन्। २०७४ मा उनी भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको राज्यमन्त्रीसमेत भइन्। २०७५ सालमा नेपाली कांग्रेस विधान मस्यौदा समितिको सदस्य बन्न पाएकोमा पनि उनलाई गर्वको अनुभूति हुन्छ। ‘२०७७ मा पार्टीको आदिवासी जनजाति विभाग प्रमुख बनें। २०७८ मा सम्पन्न १४औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छु,’ उनले भनिन्।
उनको बुझाइमा राजनीति विशुद्ध समाजसेवा हो। ‘जुनसुकै पद तथा स्थानमा रहे पनि जनताको सेवा गरिरहेको छु,’ उनले काठमाडौं प्रेससँग भनिन्। राजनीतिमा जोडिएको ३१ वर्षको दौरानमा गुरुङ महिला प्रतिनिधित्वको एउटा उल्लेखनीय उदाहरण बन्न सफल भएकी छन्। उनी राजनीतिमा महिलाको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिन्छिन्। हरेक महिलाले राजनीतिक बुझ्नुपर्ने मात्र नभई आबद्धता नै जनाउनुपर्ने धारणा राख्छिन्। महिलाले पुरुषसरह भएर काम गर्ने अवसर नपाएसम्म मुलुकको चौतर्फी विकास सम्भव नभएको तर्क उनी गर्छिन्।