Kathmandu Press

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

काठमाडाैं, मंसिर १८ : मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्न/नगराउन सबैलाई सचेत गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै मधेसी समुदायलाई लक्षित गर्दै विभिन्न व्यक्तिहरुले ‘धोती, भैया, मधिके काले’ जस्ता अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव भड्काउने कार्य गरिहेकोबारे आयोगसमक्ष विभिन्न उजुरी प्राप्त भएको र यस्ता गैरकानूनी कार्यले राष्ट्रिय एकतामा समेत खलल पार्न सक्ने भएकाले त्यसप्रति आयोग गम्भीर सचेत रहेको जनाएको छ ।

आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ । आयोगको सिफारिसपश्चात् सम्बन्धित निकायले विभिन्न घटना छानबिन गरी दोषीलाई कानूनी दायरामा समेत ल्याएको तथा यस्ता संवेदनशील घटनामा स्थलगत अनुगमतसमेत हुने गरेको आयोगले सबैमा जानकारी गराएको छ ।

'कुनै पनि जात, धर्म, समुदाय वा संस्कृतिमाथि प्रहार गर्नु अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य हो भन्दै यस्ता कार्यहरू नगर्न/नगराउनु हुन आयोग सबैलाई सचेत गराउँदछ। कुनै पनि व्यक्ति वा संस्थाले त्यस्तो गैरकानूनी कार्य गरेमा नेपालको प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ,' आयोगको विज्ञप्तिमा भनिएको छ।

‘जहाँ समस्या, त्यहीँ मधेसी आयोग’ को मूलमन्त्रसहित आयोगले आफ्नो संवैधानिक दायराभित्र रही मधेसी समुदायको संरक्षण, संवद्र्धन तथा सशक्तीकरणका लागि अहोरात्र काम गरिरहेको पनि स्पष्ट पारेको छ।

साथै, मधेसी समुदायको अधिकार उल्लङ्घन गर्ने/गराउने र सो समुदायमा प्रहार गर्ने व्यक्ति वा संस्थाको विरुद्धमा आयोग ऐन २०७४ (७) अनुसार उजुरी दिन आयोगले अनुरोध गरेको छ। टेलिफोन ०१–५२६११८५, हटलाइन ११४८, टोल फ्री १६६००११६१८५ तथा आयोगको सामाजिक सञ्चालनमा इमेलमार्फत सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ।

प्रकाशित मिति: १९:५८ बजे, आइतबार, मंसिर १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्