तनहुँले विकासप्रेमी नेता गुमायो : वरिष्ठ नेता पौडेल

तनहुँ, मंसिर १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन। संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए।
तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जलीसभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे। निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने, 'उहाँ एक विकासप्रेमी नेता हुनुहुन्थ्यो, उहाँको अभाव नेपाली कांग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ,' उनले भने।
पौडेलले स्व आलेको अभावमा उनका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए। फोक्सोको समस्याबाट पीडित रहनुभएका आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य रहेका आले दोस्रो संविधानसभाको सदस्य थिए।












