गाउँघरमा देखिन छोड्यो अरिंगालको गोला
पहाडी भेकमा विशेषगरी दुई खालका अरिंगाल हुन्छन् रातो र कालो। राता अरिंगालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिंगाल जो देख्नमा हल्का रातो कालो हुन्छन्।
फुङ्लिङ, मंसिर १४ : मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन्। अरिंगाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन्। पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिंगाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ का चिरन राई एक समयका अरिंगाल सिकारी थिए। उनी दिनभर अरिंगाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्थे। विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिंगाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउनुहुन्थ्यो। तर आजभोलि अरिंगाल भेटिन छाडेसँगै अरिंगालको सिकार गर्न छाडेका छन्।
पाँच वर्षअगाडि कात्तिक र मङ्सिरमा अरिंगालको माउ उडेको पछ्याउँदै अरिंगालको गोलो पोल्नमा व्यस्त हुने राईका लागि आजभोलि फुर्सद मिलेको छ। सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिंगालका माउ अचेल देख्न मुस्किल हुँदै गएको राईको भनाइ छ।
सोही गाउँमा शहरमान राई र राजकुमार राई पनि विगतका वर्षहरुमा प्रख्यात अरिंगाल सिकारी उपनामले परिचित नाम हो। दिनमा अरिंगालको गोलो पत्ता लगाएपछि बेलुका पोल्ने र झार्ने काम गर्थे। बिस्तारै अरिंगाल लोप हुँदै गएसँगै उहाँहरुले अरिंगालका सिकार गर्ने पेसा परिर्वतन गरेका छन्। शहरमान राई अहिले मिस्त्री काममा व्यस्त हुनुहुन्छ भने राजकुमार राई अलैँची खेती गर्न थालेका छन्।
विगतमा गाउँघर वरिपरिका जङ्गलहरुमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिंगालको गोलो देख्न सकिन्थ्यो। तर आजभोलि जङ्गल भिर पहाड तथा रूखका हाँगाहरुमा अरिंगाल देख्न मुस्किल हुँदै गएको फक्ताङलुङ गाउँपालिका-६ का वसन्त लिम्बूले बताए। लिम्बूले भने, 'केही वर्षअगाडि घरको छानोमा समेत अरिंगालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ।'
जैविक विविधताको क्षेत्रमा लामो समय काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार अरिंगाल एक प्रकारको समूहमा बस्ने विषालु किरा हो। यसको देख्न सक्ने क्षमता धेरै हुन्छ। अरिंगालले मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्लाअग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ।
सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिंगाललाई घृणा गर्छौं’ भत्रे एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको पाइन्छ। सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त लेखले मौरी र बारुलाको प्रकृतिमा खेल्ने भूमिका समान रहेको उल्लेख गरिएको छ। यिनीहरुले बिरुवालाई परागसेचनमा सघाउँछन्। विशेष गरेर मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अरिंगाल÷बारुला चाहिँ किराफट्याङ्ग्रा खाएर खेतीपातीमा सघाउँछन्। अरिंगालले बालीमा लाग्ने किरा खाएर कीट नियन्त्रणको काम गर्ने उल्लेख छ।
सो अनुसन्धानले ४५ देशका सात सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिंगाल भत्रे बित्तिकै उनीहरूको टोक्ने (खिल), रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भत्रे बित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ। त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिंगालहरू विशेषतः जङ्गलमा बस्ने स्वभावका हुन्छ। अरिंगालले आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छ।
मौरी र अरिंगाल दुवै उस्तै भए पनि टोकाइ फरक हुने भुसालले बताए। मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ। कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नशा छाड्ने गर्छ। अरिंगाल÷बारुलाले पटकपटक टोक्ने भएकाले मानिसलाई विभित्र प्रकारको दुष्प्रभाव पर्छ। एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ। मौरी तथा अरिंगालका खिलमा विशेषगरी मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ।
मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ। बारुला/अरिंगालहरूमा फोसपोफोलिएज–ए, बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसिडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता तत्वहरू पाइन्छ।
संसारमा १७ हजार प्रजातिका मौरीको पहिचान भएको छ भने नेपालमा छ प्रजाति पाइन्छन्। तिनमा चार रैथाने प्रजातिका पर्दछन्। नेपालमा बारुला/अरिंगाल भने ११ प्रजाति पाइन्छ। यी प्रजाति असार/साउनदेखि मङ्सिर/पुससम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गङ्गा काफ्लेले गरेको शोधपत्रमा उल्लेख गरिएको छ।
अरिंगालको जीवन चक्र
अरिंगालको जीवन चक्र मौरी, पुतली, झिँगा जस्तै फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क बत्रे गर्दछ। सबैभन्दा पहिले एक अरिंगालले आफू मात्र अट्ने सानो चाका बनाएर दुईचारवटा फुल पारी बाहिरपट्टि रूखका बोक्राको धुलोको लेप बनाएर टाल्छ। फुलबाट विभित्र अवस्थाहरू पार गरेर १५ देखि २० दिनमा दुई चारवटा अरू वयस्क अरिंगाल थपिन्छन्। यसैगरी जति जति अरिंगालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ।
अरिंगालको गोलोको आकार हेरेर योभित्र बस्ने अरिंगालहरू धेरै छन् अथवा थोरै छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ। अरिंगालहरू एक गोलोमा एक वर्षसम्म बस्छन्। पुस÷माघमा चिसो मौसमका कारण अरिंगालहरु गोलो छाडेर अलग अलग जान्छन्। कति त मर्छन् पनि। गर्मी सुरु भएलगत्तै बचेका अरिंगालले छुट्टाछुट्टै गोला बनाउँछन्। अरिंगालहरुले मौरी, झिङ्गा आदि किराहरूलाई आफ्नो आहार बनाउँछन्।
अरिंगाल भित्र जातअनुसार ठूला रूखका टुप्पा, भिर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर बस्ने गर्छ। विशेषतः कालो अरिंगाल, रातो अरिंगाल र लाटा अरिंगाल रूखमा गोला बनाएर बस्छन्। भिरपहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर गोला लगाउने गर्छन्।
पहाडी जिल्लामा जङ्गल र खेतबारी वरपर रूख, ओडार, भिरपहरा ठूला भवनहरूमा वर्षायामसँगै अरिंगालले गोलो लगाउने गर्दछन्। पहाडी भेकमा विशेषगरी दुई खालका अरिंगाल हुन्छन् रातो र कालो। राता अरिंगालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिंगाल जो देख्नमा हल्का रातो कालो हुन्छन्। अरिंगाललmाई चलाउनु त के आफ्नो गोला भएको रूखको वरपर आएर हल्ला गर्नेसम्मलाई पनि टोकी हाल्छ।
अरिंगाल कालो हो कि रातो भनी यसको गोलोको रङ्गबाट पनि थाहा पाउन सकिन्छ। राता अरिंगालका गोलाहरू खैरो र फुस्रो रङ्गका हुन्छन् भने कालो अरिंगालका गोला घर पोत्ने रातो माटोजस्तै चहकिलो राता हुन्छन्। अरिंगालले आफ्नो गोला बनाउन लालीगुराँस र अयाँरको नरम बोक्रा प्रयोग गर्दछन् र सावधानी नअपनाउँदा हरेक वर्ष अरिंगालको टोकाइबाट मृत्युका समाचार आइरहन्छन्।
अरिंगालको प्रयोग
विषालु अरिंगाल, वछ्युँ, बारुलोको मह त हुँदैन तर लार्भाको परिकार बनाएर खाने प्रचलन गाउँघरमा लोकप्रिय छ। पछिल्लो ससयमा अरिंगालका लार्भाको व्यापार पनि गर्ने गरेको देखिन्छ। लार्भा र उड्न नसकेका बच्चा राम्रो मूल्यमा खरिद बिक्रीसमेत हुँदै आएको स्थानीयहरु बताउँछन्। चाकालाई झोलामा राखेर घर ल्याएपछि पोल्ने वा उमाल्ने गरिन्छ।
चाकालाई पोल्दा वा उसिन्दा बच्चा ढाडिनाका साथै बच्चा छोप्ने ढक्कन डढेर नष्ट भई चाकाबाट बच्चा निकाल्न सजिलो हुन्छ। बच्चा निकालेर भित्रको फोहोर वस्तु फालिन्छ र तेलमा भुटेर खाने गरिन्छ। अरिंगाल काढेपछि छिमेकमा बाँडेर खाने चलन छ। पहिला त गाउँलेले मात्रे जनहरुलाई समेत अनिवार्य भाग पुर्याउने रीति रहेको थियो।
अरिंगालको सिकार किरात राई जातिमा निकै लोकप्रिय मानिन्छ। किरात राई जातिमा लोकप्रिय परिकारमा पर्ने अरिंगाल, तरकारीको वा सितनका रूपमा खाने चलन छ। यति मात्र होइन, उनीहरूले माङ (देवता) लाई पनि चढाउने आएको फक्ताङलुङ गाउँपालिका-६ राजकुमार राईको भनाइ रहेको छ। किरात राई जातिका माङ भनेको आफ्ना मृतात्मा पुर्खा अर्थात् पितृहरू हुन्। किरात राई जातिमा अरिंगालको महत्व रहेको छ।
अरिंगाल काढ्ने समय
सामान्यतः अरिंगाल काढ्ने समय पनि निश्चित हुन्छ। साउन वा भदौमा नुवागी पुजेपछि मात्र अरिंगाल काढ्ने चलन रहिआएको छ। त्योभन्दा अगाडि अरिंगाल काढ्न मिल्दैन, काढेमा पितृहरू रिसाइ सुब्बेफाब्बे हुँदैन भन्ने विश्वास रहेको छ।
अरूको बारी वा खेतको अरिंगाल विनाअनुमति काढ्न मिल्दैन। सामान्यतः साउन अन्तिमबाट सुरु गरेर भदौ, असोजदेखि कात्तिक र मङ्सिर महिनासम्म अरिंगाल काढ्ने चलन छ। यसमा पनि असोज महिनाको पूर्णिमा तिथि पारेर काढ्न सकेमा बढी बच्चा हुन्छ भत्रे विश्वास रहेको मेरिङदेन गाउँपालिका-३ का शेखर लिम्बूले बताए। लिम्बूका अनुसार कहिले काढ्ने भत्रे कुरा निजी बारी, खेत वा सार्वजनिक जङ्गल के हो त्यसमा भर पर्दछ।
यसरी लोप हुँदैछ अरिंगाल
परम्परागत प्रविधिबाट अरिंगाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ। गोलाभित्र रहेका माउहरु सबै आगोले जलाइन्छ। अरिंगालको गोलोको एक छेउमा एउटा दुलो राखेको हुन्छ। त्यही दुलोबाट अरिंगालका माउहरु आउजाउ गर्दछ।
गाउँघरमा अरिंगाल काढ्दा त्यही दुलोमा रागो (बाँसका मसिनो भाग) बालेर अरिंगालको गालो पोल्ने प्रचलन रहिआएको छ। यसरी अरिंगाल पोल्दा अरिंगालको माउ सबै जलेर मर्ने गर्दछ।
गाउँगाउँमा आगोले पोल्ने, अरिंगालको कोलोमा मट्टितेल, डिजेल तथा पेट्रोल छर्की आगो लगाएर अरिंगाल काढ्ने परम्पराले अरिंगाल मासिँदै गएको फक्ताङलुङ गाउँपालिका-६ का वसन्त लिम्बू बताउँछन्। पछिल्लो समयमा विषादीहरुको प्रयोग र वायु प्रदूषण तथा वनजङ्गल डढेलोजस्ता कारणले अरिंगाल सङ्कटमा पर्दै गएको जैविक विविधता क्षेत्रमा लामो समयदेखि काम गर्दै आउने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ। (रासस)












