Kathmandu Press

काठमाडौं-तराई फास्ट ट्रयाकको छैटाैं प्याकेज तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियमविपरीत छैटाैं प्याकेज ठेक्का दिएको र उक्त ठेक्का खारेज गर्न अन्तरिम आदेश दिनुपर्ने मागसहित बिहीवार सर्वाेच्चमा रिट परेको थियो।
काठमाडौं-तराई फास्ट ट्रयाकको छैटाैं प्याकेज तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडौं,  मंसिर १२ : काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को छैटाैं प्याकेज तत्काल कार्यान्वयन नहुने भएकाे छ।

ठेक्का विवादसम्बन्धी परेको रिटमा सर्वाेच्च अदालतले ठेक्का तत्काल कार्यान्वयन नगर्न आइतबार आदेश दिएको छ। सर्वाेच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले भाेलि (मंगलबार) का लागि दुवै पक्षलाई छलफलका लागि सर्वाेच्चमा उपस्थित हुन आदेश दिएको छ। 

नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियमविपरीत छैटाैं प्याकेज ठेक्का दिएको र उक्त ठेक्का खारेज गर्न अन्तरिम आदेश दिनुपर्ने मागसहित बिहीवार सर्वाेच्चमा रिट परेको थियो।

Hardik ivf

ठेक्का प्रक्रियामा सामेल भएको भारतीय अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले बिहीबार रिट दायर गरेका थिए। रिटमा  सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पूनरावलोकन समिती, काठमाडौं-तराई मधेस फास्ट ट्रयाक परियोजना, चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ। 

सर्वाेच्चमा भएको सुनुवाइमा मुद्दा दायर गर्ने कम्पनी तथा विपक्षीहरुका तर्फबाट अधिवक्ताहरु सहभागी थिए। सर्वाेच्चले दुवै पक्षको धारणा मंगलबारदेखि माग्नेछ। ग्लोबल टेन्डर आह्वान भएपछि शुरुवाती चरणमै प्याकेज ६ को टेन्डरमा सहभागी भएको चाइना फस्ट हाइवे कम्पनीलाई सेनाले अस्वीकृत गरेको थियो।

उसले प्रस्तुत गरेको प्राविधक प्रस्ताव अयोग्य भएको सेनाको ठहर थियो। तर चिनियाँ कम्पनीले सार्वजनिक खरिद अनुमोदन कार्यालयमा उजुरी दिएपछि पुनरावलोकन समितिले सेनाको निर्णय उल्ट्याएको थियो।

समितिको नियत सही नभएको र चिनियाँलाई पुनःमूल्यांकनमा सहभागी गराउने कार्य कानुनसम्मत नभएको भन्दै भारतीय कम्पनी सर्वाेच्च अदालतमा गएको हो। पहिलोपटक भारतीय कम्पनी ठेक्का प्रकरणलाई लिएर सर्वाेच्चमा गएको हो। 

प्याकेज ६ का लागि सेनाले जेठ १८ गते टेन्डर आह्वानमा १२ कम्पनीले प्रस्ताव पेस गरेका थिए। प्राविधिक प्रस्ताव जम्मा पाँचवटा कम्पनीको मात्रै स्वीकृत भएको थियो। जसमा चाइना फस्ट हाइवे कम्पनी परेको थिएन। चाइना हाइवेसहितका कम्पनीहरुको प्रस्ताव अस्वीकृत गर्दै सेनाले छनौट भएका पाँच कम्पनीहरुको वित्तिय प्रस्ताब भदौ ३१ खोल्ने तय गरेको थियो।

तर चाइना हाइवे कम्पनीले आफूमाथि अन्याय भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएपछि ३१ भदौमा वित्तिय प्रस्ताब खोलिएन। पुनरावलोकन समितिले चिनियाँ कम्पनीलाई पनि मूल्यांकन प्रक्रियामा सहभागी हुन काठमाडौं तराई मधेस परियोजनालाई निर्देशन दिएपछि सेनाले उसलाई सहभागी गराएको थियो। भारतीय कम्पनीले यो प्रक्रिया कानुनसम्मत नभएको बरु बदनियतपूर्ण रहेको रिटमा उल्लेख गरेको छ।  

सेनाले कात्तिक २० गते साँझ ५ बजे वित्तीय प्रस्ताव खोल्ने चिठी पठायो। भोलिपल्ट १ बजे सेनाले बाँकी कम्पनीहरूलाई पठाएको इमेलमा चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी छनोट भएको जानकारी दिएको थियो।

सुरुमै अस्वीकृत कम्पनीले ठेक्का पाउनु स्वभाविक नभएको भारतीय कम्पनीको रिटमा जिकिर छ। 
प्राविधिक प्रस्ताब अस्वीकृत भएको कम्पनीलाई नै टेन्डर दिने सार्वजनिक खरिद पुनरावलोकन समिति र सेनाको निर्णय कानुनविपरीत भएको भन्दै भारतीय कम्पनी सर्वाेच्चमा गएको हो।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्