Kathmandu Press

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो

माथिल्लो डोल्पामा रोकिएका कर्मचारी हेलिकोप्टरबाट दुनै ल्याइयो

कर्णाली, मंसिर ९ : यही ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ।

जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरूलाई आज डोल्पा सदरमुकाम पुर्‍याइएको हो। यसका लागि नेपाली सेनाको हेलिकोप्टरले आज सात फ्लाइट गरेको थियो। निर्वाचनका लागि चार हजारदेखि पाँच हजार मिटरको उचाइमा रहेका १२ मतदान केन्द्रमा खटाइएका मध्ये एक सय ३९ कर्मचारी रोकिएका थिए।    

उनीहरूलाई ओसार्न बिहीबार डोल्पा सदरमुकाम पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण फर्केको थियो। त्यसपछि आज हेलिकोप्टरको व्यवस्था मिलाएर माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्ध गाउँपालिकाका १२ मतदान केन्द्रका कर्मचारी ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।

'सुरुमा मतपेटिका सङ्कलनमा प्राथमिकता, पछि मौसम प्रतिकूलता र प्राविधिक कारणले छिटो ल्याउन खोजिए पनि ढिला भयो,' प्रजिअ अधिकारीले भने, 'भिजेर, साल्दाङ् कुगाउँ, धो, तिलिङलगायत स्थानमा रहेका कर्मचारी र सुरक्षाकर्मी सबैलाई आज सकुशल सदरमुकाम डोल्पा पुर्याइएको छ।' अत्यधिक चिसो, खान, बस्न र बिरामी हुने समस्यालाई बुझेर सरकारले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै कर्मचारी पवित्रा बोहोराले धन्यवाद दिए।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, मंसिर ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्