धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो विजयी
धनुषा, मंसिर ९ : धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उनी ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकी हुन् ।
पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी निर्वाचित भएकी हुन् । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन्।
तीन दशकदेखि राजनीतिमा क्रियाशील उनको संसदीय यात्रा ०६४ बाट सुरु भएको थियो । संविधानसभाको पहिलो निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् । संविधानसभाको दोस्रो निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएकी थिइन् । २०७४ मा पुनः समानुपातिक सदस्य भएकी थिइन्।
जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएकी छन् । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बेनकी थिइन्।