अर्घाखाँचीबाट रायमाझी चौथोपटक निर्वाचित

अर्घाखाँची, मंसिर ८ : एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले) विजयी भएको छ ।
प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी भएका हुन् ।
निर्वाचित तीनैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी विजयी घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको हो ।
प्रमाणपत्र ग्रहण गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझीले सबै पक्षसँग समन्वय र सहकार्य गरेर देशको एकमात्र लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउन लागिपर्ने बताए ।
रायमाझी ४२ हजार छ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान उपसभामुख पुष्पा भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गरे। रायमाझी एक हजार सात सय ३० मतान्तरले विजयी भए । स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले तीन हजार एक सय ९९ मत प्राप्त गरे। रायमाझी विसं २०६४, २०७०, २०७४ र २०७९ गरी चारपटक विजयी भइसकेका छन् । पूर्वउपप्रधानमन्त्री भइसकेका रायमाझी पटक–पटक मन्त्रीसमेत भइसकेका छन्
प्रदेशसभा (१) मा एमालेका उम्मेदवार चेतनारायण आचार्यले २० हजार पाँच सय १८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार सात सय ७८ मत प्राप्त गरे। प्रदेशसभा (२) मा पनि एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे विजयी भएका छन्। घिमिरेले २२ हजार सात सय ७६ मत प्राप्त गरेका थिएभने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार नौ सय ७५ मत प्राप्त गरे।












