Kathmandu Press

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने

नवलपुर, मंसिर ३ : आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुवै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरको मतगणना सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको हो ।

जिल्लाको छवटै क्षेत्रको मतगणना आठ वटा कोठाबाट एकसाथ गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए। जिल्लामा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ ।

Hardik ivf

क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार आज साँझसम्म मतदानस्थल निर्माण, फोटोसहितको मतदाता परिचयपत्र वितरण तथा सर्वलदलीय बैठक सकिएको छ । सबै मतदानस्थलमा भएको सर्वदलीय बैठकमा मतगणनालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि दलका प्रतिनिधि तयार रहेका पन्थीले बताए।

जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा आएपछि सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना गर्ने तयारी गरिएको छ । पन्थीले मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मत परिणाम घोषणा गरिने दाबी गरे।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतदानस्थलमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदानस्थलबाट मतगणनास्थलसम्म सुरक्षितरुपमा मतपेटिका ल्याउनका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कता साथ राखिएको बताए। मतदान सकिएपछि आइतबार राति १२ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याउनेगरी तयारी गरिएको उनले बताए।

प्रकाशित मिति: २०:२७ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्