निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज शोक विज्ञप्ति जारी गरी दिवङ्गत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
काठमाडाैं, मंसिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ।
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्थामा र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रका सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँगुरीगढी–४ की पवित्रा लिम्बूको मङ्सिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज शोक विज्ञप्ति जारी गरी दिवङ्गत कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
साथै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई आयोगले आग्रह गरेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










