Kathmandu Press

ललितपुरका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन बलियो

ललितपुर जिल्लाका तीनवटा क्षेत्रका उम्मेदवारहरू पनि अन्तिम समयमा मतदाता भेट्ने चटारोमा छन् ।
ललितपुरका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन बलियो

काठमाडौं, मंसिर १ : आम निर्वाचन आइपुग्न तीन दिन मात्र बाँकी छ। मौन अवधि सुरु हुन थोरै मात्र समय बाँकी रहँदा देशैभरिका उम्मेदवारहरू चुनावी प्रचारलाई अन्तिम रूप दिन दौडधुपमा छन्। ललितपुर जिल्लाका तीनवटा क्षेत्रका उम्मेदवारहरू पनि अन्तिम समयमा मतदाता भेट्ने चटारोमा छन् ।

ललितपुर जिल्लाभरिमा दलका ३८ र स्वतन्त्र २५ गरी ६३ जनाले उम्मेदवारी दिएका छन्। २०७४ मा दुईवटा क्षेत्रमा नेकपा एमाले र एउटामा नेकपा माओवादी केन्द्र विजयी भएका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो। अहिलो स्थिति फेरिएको छ।

त्यतिबेला एमालेसँग माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा गाँसिएको छ। ललितपुरलाई ‘लालकिल्ला’ बनाउन मिलेका दुई ठुला कम्युनिस्ट पार्टी अहिले सँगै नहुँदा एमालेलाई चुनौती थपिएको छ। यसअर्थमा यो चुनावमा गठबन्धनले जित्ने सम्भावना उच्च छ। पहिलाको र अहिलेको राजनीतिक समीकरण फरक रहेकाले  नतिजा उलटपुलट हुन सक्ने देखिन्छ ।

Hardik ivf

ललितपुर १ : सिलवालको दोहोरिने दाउ, हारको बदला लिने ध्याउन्नमा राणा

प्रतिनिधिसभाका लागि दलका ११ र स्वतन्त्र १० गरी २१ उम्मेदवार रहेको ललितपुर १ मा एमालेका नवराज सिलवाल र लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका उदयशमशेर राणाबीच दोस्रोपटक मुख्य प्रतिस्पर्धा हुँदैछ।

२०७४ मा ६ हजार २२२ मतान्तरले विजयी भएका सिलवालले २६ हजार ९५१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत प्राप्त गरेका थिए ।

पूर्वडिआइजीसमेत रहेका सिलवाल आगामी निर्वाचनमा दोस्रो जित निकाल्ने प्रयासमा छन् भने राणा पुरानो नतिजा उल्ट्याई हारको बदला लिने ध्याउन्नमा छन्।

ललितपुर १ मा गोदावरी नगरपालिकाका १२ वटा वडा (१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३) पर्छन् । त्यस्तै तीन गाउँपालिका कोञ्ज्योसोम, बागमती र महांकालका सबै वडा सो क्षेत्रमा पर्छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा सो क्षेत्रमा पर्ने कुल ३० वडा वडामध्ये २२ वटामा कांग्रेसले, पाँच वटामा माओवादी केन्द्रले र तीन वटामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन्।

वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस अगाडि छ। उसले २३ हजार ७३६ मत बटुलेको छ। एमालेले १९ हजार ८८ मत र माओवादी केन्द्रले ४ हजार ८९१ पाएका छन् । राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र लगायतले २ हजार ५५५ मत ल्याएका छन्।

सत्ता गठबन्धनतिर कांग्रेस र माओवादीको मात्रै मत जोड्दा साढे २८ हजार मत हुन्छ। यो मत सुरक्षित भए राणाको जित सुनिश्चित देखिन्छ। गठबन्धनको मत बिगार्न सके सिलवालले नजित्ला भन्न सकिन्न ।

यी दुईबाहेक जनता समाजवादी पार्टी, नेपाल गोपालराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी सन्दीप आचार्य, नेपाल मजदुर किसान पार्टीका कवीन्द्र डंगोल, लोकतान्त्रिक समाजवादी पार्टीका मनीषबहादुर श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका सूर्य तामाङ बल, नेसनल पिपल्स पार्टीकी सुभद्रा महर्जन, राष्ट्रिय जनमुक्त्ति पार्टीका बालकृष्ण घिमिरे चुनावी मैदानमा छन्।

त्यसैगरी आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट विष्णु लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचिनकुमार घिमिरे प्रतिस्पर्धामा छन् भने स्वतन्त्रबाट गोविन्द घिमिरे के.सी, सुमन भुम्जन, राजकुमार तिमिल्सिना, फूलमाया लो, नवराज घिमिरे, विशाल तामाङ, भूपेन्द्र सिल्वाल, गोकुल तिमल्सिना, शैलेन्द्र विष्ट, कृष्ण काजी महर्जन प्रतिस्पर्धामा छन् ।

ललितपुर २ : पूर्वसहकर्मी कृष्णलाल र प्रेमलालबीच रोचक प्रतिस्पर्धा

ललितपुर २ मा प्रतिनिधिसभाका लागि दलका १४ र स्वतन्त्र ८ गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन्। तर एमाले विभाजन हुनुअघिका दुई सहकर्मी एवं घनिष्ठ मित्र कृष्णलाल महर्जन र प्रेमबहादुर महर्जनबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। नेकपा एकीकृत समाजवादीका कृष्णलाल सत्ता गठबन्धनका तर्फबाट र प्रेमबहादुर नेकपा एमालेबाट उम्मेदवार बनेका हुन्।

कृष्णलाल सोही क्षेत्रबाट दुईपटक सांसद भइसकेका छन्। यसपटक उनलाई रोकेर संसद छिर्ने दाउमा प्रेमबहादुर छन्। प्रेमबहादुर पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन् ।

२०७४ मा कृष्णलालले विजयी हुँदा २७ हजार ७१३ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याएका थिए। सत्ता गठबन्धनले तालमेल गरेका कारण यसपटक सो क्षेत्रमा कांग्रेसको उम्मेदवारी परेको छैन। विवेकशील साझा पार्टीका तर्फबाट अमिरराज महर्जनले ५ हजार ४०८ मत प्राप्त गरेका थिए ।

ललितपुर२ मा ललितपुर महानगरपालिकाका नौवटा (६, ७, ८, ९, ११, १२, १६, १७ र १९) र महालक्ष्मी नगरपालिकाका सबै १० वटै गरी १९ वटा पर्छन्।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ललितपुर महानगरका ६ र महालक्ष्मीका ३ गरी नौवटा वडामा कांग्रेसले, महालक्ष्मीको एउटा वडामा माओवादी केन्द्रले र महानगरका तीन र महालक्ष्मीका ६ गरी ९ वटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जित हासिल गरेका छन्। वडाध्यक्षका उम्मेदवारहरूले पाएका मत हिसाब गर्दा नेपाली कांग्रेसले २१ हजार ८१९, एमालेले १६ हजार ३३७, माओवादी केन्द्रले ५ हजार ८८६ र एकीकृत समाजवादीले २ हजार ५६० मत प्राप्त गरेको छ ।

सत्ता गठबन्धनको मत जोड्दा ३० हजार २६५ र कसैसँग तालमेल नगरेको एमालेको १६ हजार २३७ मत रहेको देखिन्छ । यस आधारमा आफ्नो पार्टीको कमै मत भए पनि एकीकृत समाजवादीका प्रमबहादुरले गठबन्धनको बलमा सबै मत तान्न सके झन्डै दोब्बर मतले जित्न सक्ने देखिन्छ । तर कृष्णलाल गठबन्धनको मत तितरबितर पारेर आफूले जित्ने बताइरहेका छन्।

उनीहरूबाहेका सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रघुवरराज थापा, नेपाल मजदुर किसान पार्टीका राजवीर डंगोल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण शाही, हाम्रो  नेपाली पार्टीका सुदिन शाक्य, मंगोल नेसनल अर्गनाइजेसनका तर्फबाट खेमप्रसाद श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुवानसिंह लिम्बू पनि चुनावी भिडन्तमा होमिएका छन्।

त्यसैगरी नेसनलिष्ट पिपल्स पार्टीबाट निरञ्जन गणेश, राष्ट्रिय जनमुक्क्ति पार्टीबाट सुरेश महर्जन, नेपाल सुशासन पार्टीबाट जयबहादुर खत्री, जनसमाजवादी पार्टीबाट शिव पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन पनि सोही क्षेत्रबाट चुनाव भिड्दैछन् ।

स्वतन्त्रबाट सञ्जीव चौधरी, ऋषिराज भेटवाल, दीपेशकुमार केसी, सरिना लाखे (श्रेष्ठ) विकास शाक्य, हेराकाजी आवाले, निरजभक्त माथेमा, राधिका सुवेदी त्यहाँ उम्मेदवार छन् ।

ललितपुर ३ : भुसाल जित्नेमा ढुक्क, अमृत र तोसिमा पनि बलिया उम्मेदवार  

ललितपुर–३ मा दलका १३ र स्वतन्त्र ७गरी २० उम्मेदवारले आपसमा चुनाव भिड्ने भएका छन् । त्यहाँ मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा माओवादी केन्द्रकी नेत्री पम्झा भुसाल र नेकपा एमालेका अमृत खड्काको चर्चा भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीलाई पनि बलिया दाबेदारका रूपमा हेरिएको छ।

हाल ऊर्जामन्त्री रहेकी माओवादी केन्द्रकी नेत्री भुसालले २०७४ को निर्वाचनमा सोही क्षेत्रमा जितेकी थिइन्। भुसालले २४ हजार ३६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन अमात्यले २२ हजार ३२८ मत प्राप्त गरेका  थिए।

भुसाल २०७४ कै जितलाई पुन दोहो¥याउने दौडमा रहँदा एमालेका खड्का पनि जसरी पनि जित्ने उद्देश्य बोकेर मतदाताका घरघरमा दौडधुप गरिरहेका छन्। ललितपुरकै जन्मेहुर्केकी कार्की उम्मेदवारी खारेज, घन्टी बजाउन रोक लगाइएको घटनाले चर्चामा छिन्। भुसाल र खड्काका लागि युवाद्वारा रुचाइएकी उनी चुनौती बनेकी छन् । उनले तान्ने भोटले मुख्य प्रतिस्पर्धीको नतिजामा उलपफेर आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

ललितपुर–३ मा २२ वटा वडा छन्। गोदावरी नगरपालिकाका दुईवटा वडा (१२ र १४) र ललितपुर महानगरका २० वटा वडा (१, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९) पर्छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार  यस क्षेत्रमा सातवटामा कांग्रेसले, आठ वटामा एमालेले, तीनवटामा माओवादी केन्द्रले, दुईवटामा एकीकृत समाजवादी, दुईवटामा स्वतन्त्रले वडाध्यक्ष हात पारेका छन्।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हेर्दा कांग्रेसले १८ हजार ५४५, एमालेले १७ हजार ७०९, माओवादी केन्द्रले ७ हजार ७२७, एकीकृत समाजवादीले ५ हजार १२९ र राप्रपाले ४ हजार ३३२ मत ल्याएका छन्। यो क्षेत्रमा एमालेले कसैसँग पनि तालमेल नगरेको हुँदा खड्काले एमाले मतमै भर पर्नपर्ने अवस्था छ भने भुसालले स्थानीय तहको गठबन्धन मत संरक्षण गरे जित सुनिश्चित छ।

चर्चामा रहेका यी तीन उम्मेदवारबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरञ्जन थापा, नेपाल मजदुर किसान पार्टीबाट निरज लवजु, लोकतान्त्रिक समाजवादी पार्टीबाट किरण शाही, मौलिक जरोकिलो पार्टीबाट धीरेन्द्र सोडारी, हाम्रो नेपाली पार्टीबाट राजाराम तण्डुकार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्र प्रसाद ओझा यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णुकुमार लिम्बू, नेसनलिस्ट पिपल्स पार्टीबाट चिरञ्जीवी सापकोटा, आमूल परिवर्तन मसिहा पार्टीबाट सपना महर्जन, नेपाल आमा पार्टीबाट कविता राई यो क्षेत्रमा उम्मेदवार छन् ।

स्वतन्त्रबाट रघुनाथ केसी, राधेश्याम खड्का, कृष्णभक्त ब्रम्हचार्य, चिरन थापा, विष्णु महर्जन, जेसन देज वैध्य, सञ्जय महर्जन  पनि यसै क्षेत्रका उम्मेदवार हुन्।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्