राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङलाई स्पष्टीकरण

काठमाडौं, कात्तिक ३० : निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ।
सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड ९क० अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन।
घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको छ।












