छाब्दीलाई नमूना पर्यटकीय क्षेत्र बनाइन्छ : वरिष्ठ नेता पौडेल

तनहुँ, कात्तिक २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमूना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताएका छन।
व्यास नगरपालिका–१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भने, 'निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्, मुख्यमन्त्री बन्छु,' उनले भने। शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो।
पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे। कहीँकतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उनले बताए।
उनले भने, 'अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु।' सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको बताए।
विकास गरी नमूना जिल्लाको रुपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताए।












