मनाङमा निर्वाचनको तयारी पुरा
निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मनाङ, कात्तिक २८ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पुरा भएको छ।
निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरिसकिएको छ। जिल्लाका मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी केन्द्रमा पठाउने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको थियो। मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको उनले बताए।
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको थियो।
निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर पठाउनका लागि तयारी अवस्थामा राखिएको छ । प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइनेछ । निर्वाचनका लागि मनाङमा २०० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट खटाइनेछ।
मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेका छन् । चार वटा गाउँपालिका रहेको जिल्लामा एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र छन् भने प्रदेशसभा ‘१’ मा २ हजार ६ सय २४ र प्रदेशसभा ‘२’ मा ४ हजार १ सय ५५ मतदाता छन्। (रासस)












