काठमाडौं–६ : ह्याट्रिक गर्ने प्रधानको दाउ, पहिलोपटक संसद छिर्ने पूर्वआइजिपी खनालको प्रयत्न
पूर्वमन्त्रीसमेत रहेका प्रधान सो क्षेत्रमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् भने पूर्वप्रहरी महानिरीक्षक रहेका खनाल उनलाई रोकेर पहिलोपटक संसद छिर्ने रणनीतिमा छन्।काठमाडौं कात्तिक २८ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं ६ मा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र एमालेका सर्वेन्द्र खनालबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । पूर्वमन्त्रीसमेत रहेका प्रधान सो क्षेत्रमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् भने पूर्वप्रहरी महानिरीक्षक रहेका खनाल उनलाई रोकेर पहिलोपटक संसद छिर्ने रणनीतिमा छन्।
प्रधान त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसा त्यागेर राजनीतिमा होमिएका थिए। त्रिविमा नेपाल प्राध्यापक संघको अध्यक्ष रहेका उनी २०६७ सालमा कांग्रेस काठमाडौं जिल्ला सभापति भएका थिए। प्रधान २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए। पछिल्लोपटक सांसद जित्दा उनी रक्षामन्त्री समेत भएका थिए।
राजनीतिमा अनुभवी मानिएका प्रधानलाई आफ्नो क्षेत्रवासीले इमानदार नेताका रूपमा लिने गरेका छन्। उनी अहिलेसम्म कुनै पनि विवादमा तानिएका छैनन्। त्यसकारण पनि उनी खनाललाई आफ्नो चुनौती ठान्दैनन्। खनाललाई राजनीतिक मान्छे नमान्ने उनी आफ्नो क्षेत्रमा फेरि पनि जित्ने दाबी गर्छन्।
तर नेपाल प्रहरीमा हुँदा निकै चर्चा कमाएका, पछि एमालेमा प्रवेश गर्दै उम्मेदवार बनेका र सर्वसाधारणमा परिचित खनाललाई कमजोर आँक्न नमिल्ने विश्लेषण पनि हुने गरेको छ।
नेपाली फुटबलको म्याच फिक्सिङ प्रकरणका बेला खनाल निकै चर्चामा आएका थिए। गुन्डागर्दी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भनेर पनि उनको प्रशंसा भएको थियो। तर प्रहरीको नेतृत्वमा आएपछि भने उनी विवादमा पनि तानिए। सुन तस्करी काण्डमा मौन बसेका आरोप लागेका उनी अवकाश हुनुभन्दा केही समयअघिबाट नेकपा एमालेका अध्यक्ष ओलीसँग नजिकिए।
अवकाश पाएको केही समयपछि जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा पनि उनी मुछिएका थिए। उनी गत असोज ६ गते एमालेमा प्रवेश गरेका थिए। पार्टीमा प्रवेश गरेका छोटो समयमै उनी टिकट पाउन सफल भएका हुन्।
दलका १३ र स्वतन्त्रका ११ गरी २४ जना चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धीहरू प्रधान र खनाल दुवैले आफूले जित्ने दाबी गर्दै आएका छन्। प्रधान दुईपटक संसद हुँदा, एकपटक मन्त्री हुँदा र पार्टीका नेता मात्र हुँदा पनि आफ्नो क्षेत्रमा गरेका कामका आधारमा जनताले आफूलाई चुन्नेमा विश्वस्त देखिन्छन् भने एमालेले सारेका योजनाका साथसाथै राष्ट्रिय सुरक्षाका विषयमा दीर्घकालीन रणनीति बनाउने र प्रहरी प्रशासनलाई चुस्त बनाउने आफ्नो मुख्य एजेन्डाका साथ परिणाम आफ्नो पक्षमा पार्न खनाल लागिपरेका छन्।
२०७४ मा काठमाडौं ६ मा प्रधानले माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए। त्यतिबेला उनले १६ हजार ७८५ मत प्राप्त गर्दा सुवेदी १५ हजार ४८५ मतमा सीमित बनेका थिए। त्यतिबेला वाम गठबन्धन भएकाले सुवेदीलाई एमालेको साथ थियो।
गएको स्थानीय निर्वाचनमा काठमाडौं ६ मा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा नेपाली कांग्रेस एक्लैको १७ हजार २७७ मत छ। जबकि एमालेको १४ हजार ३०३ मत छ। लोकतान्त्रिक वाम गठबन्धनको एक घटक माओवादी केन्द्रका वडाध्यक्षहरूले २ हजार ४६२ र अर्को घटक नेकपा एकीकृत समाजवादीले १ हजार ४५९ मत ल्याएका छन्।
कांग्रेसको पहिलेको मत बचाएर माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि मत थपिँदा प्रधानलाई जित्न गाह्रो पर्दैन। चुनावी अंकगणितमा एमाले त्यति बलियो देखिँदैन। तर स्थानीय निर्वाचनको मत संसदीय निर्वाचनमा पनि कायम रहन्छ नै भन्ने कुनै ग्यारेन्टी नहुने भएकाले खनाल सकेसम्म मत आफूतिर तान्ने प्रयासमा छन्।
काठमाडौं ६ मा कांग्रेसभित्रकै विवाद र माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट रहेको भनिएकाले त्यसको फाइदा खनाललाई पुग्न सक्ने पनि बताउने गरिन्छ। राजनीतिमा नयाँ अनुहार भएकाले पनि उनले प्रधानलाई रोक्ने सम्भावना कमै रहेको राजनीतिका जानकारहरू बताउँछन्।
कांग्रेसका प्रधान र एमालेका खनालबाहेक जनता समाजवादी पार्टी (जसपा) बाट मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विष्णुप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टी (नेकमिपा) बाट सनकमान महर्जनलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। स्वतन्त्रबाट भने विष्णु प्रसाद ढकाल, दिपु उप्रेदी, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम, खगेन्द्र ढकाल, राजेश श्रेष्ठ (मास्के) ले उम्मेदवार दिएका छन्।