Kathmandu Press

काठमाडौं–३ : बजगाईँले उम्मेदवारी निष्क्रिय गरेपछि गठबन्धनका चालिसेलाई सहज 

कात्तिकको दोस्रो सातासम्म कांग्रेस उम्मेदवार चालिसेलाई पनि चुनावमा कठिन हुने वातावरण थियो । त्यहाँ माओवादी केन्द्रका  बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएपछि चालिसेले जित्ने सम्भावना कम बनेको थियो ।
काठमाडौं–३ : बजगाईँले उम्मेदवारी निष्क्रिय गरेपछि गठबन्धनका चालिसेलाई सहज 

काठमाडौं, कात्तिक २७ : शनिबार काठमाडौंमा आयोजित चुनावी कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले सन्तोष चालिसेलाई माइक उपहार दिएर भने– यसपटक म संसदमा हुन्न त्यसैले जनताको आवाज सन्तोषजीले बोल्ने हो ।यो माइक मेरो, आवाज जनताको अनि बोली सन्तोषको । जवाफमा सन्ताेष चालिसेले भने– जनताको आवाज बोल्ने ठाउँमा जाँदैछु, यो माइकले मलाई झनै जिम्मेवारी थपिएको महसुस भयो । 

डा. रिजालले विभिन्न अन्तरवार्ता र लेखहरुमा काठमाडौंका तीन निर्वाचन क्षेत्रलाई गठबन्धनले सहजै जित्न बताउँदै आएका छन् ।तीमध्ये काठमाडौं–३ मा गठबन्धनको जित सुनिश्चित रहेको बताइन्छ । शनिबारको कार्यक्रममा पनि डा. रिजालले चालिसेलाइ त्यसै माइक उपहार दिएका थिएनन् । उनले केही संकेत दिन खाेजेकाे बुझ्न सकिन्छ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका निवर्तमान मेयर हुन् । आसन्न मंसिर ४ को निर्वाचनमा उनी काठमाडौं–३ बाट गठबन्धनका उम्मेदवार छन् । ०७४ को निर्वाचनमा यस क्षेत्रमा कांग्रेस पराजित भएको थियो । त्यतिबेला एमालेबाट विजयी भएका कृष्णकुमार राई चालिसेका प्रतिद्वन्द्वी छन् । 

Hardik ivf

०७४ मा १९ हजार मतका साथ राई निर्वाचित हुँदा कांग्रेसकी अम्बिका बस्नेतले  १४ हजार ८८४ मत ल्याएकी थिइन् । फेरिएको राजनीतिक समिकरणका बीच हालका कांग्रेस उम्मेदवार चालिसे जितका लागि सहज अवस्थामा रहेको विश्लेषण सुनिन्छ ।

त्यतिबेला वाम गठबन्धनको पक्षमा देखिएको जनलहरका बाबजुद केबल चार हजार मतान्तरले मात्र राई विजयी भएको र त्यतिबेलाका माओवादी र एमालेका माधव नेपाल समूह (हाल एकीकृत समाजवादी पार्टी) गठबन्धनमा हुनु चालिसेका अनुकुलता हुन् । एमालेका राई अहिले एक्लै चुनावी मैदानमा छन् । ०७४ को सहयात्री दल र आफ्नै पार्टीको एक समूह फुटेर कांग्रेससँग गठबन्धन गरेपछि राईलाई यसपटकको चुनावमा हम्मेहम्मे पर्ने देखिन्छ ।

कात्तिकको दोस्रो सातासम्म कांग्रेस उम्मेदवार चालिसेलाई पनि चुनावमा कठिन हुने वातावरण थियो । त्यहाँ माओवादी केन्द्रका  बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएपछि चालिसेले जित्ने सम्भावना कम बनेको थियो । तर, पार्टीको निर्देशनसँगै कात्तिक १७ गते बजगाईँले आफ्नो उम्मेदवारी निष्क्रिय पारेपछि चालिसेका लागि अनुकुल र एमाले उम्मेदवार राईका लागि प्रतिकुल वातावरणको सिर्जना भएको हो । 

माओवादीले उम्मेदवारी दिएर पनि निष्क्रिय पारेका कारण  चालिसेले गठबन्धनबाट पाउने मत केही तलमाथि हुन सक्छ भने तत्कालीन एमालेका माधव नेपालले पार्टी फुटाएको असर राईले पाउने मतमा पर्न सक्छ । यस हिसाबमा चालिसे र राईबीच कडा टक्कर हुने देखिन्छ । 

स्थानीय तहमा गठबन्धन बलियो 

काठमाडौं–३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । स्थानीय निर्वाचनमा कांग्रेसले ५, एमालेले ७ र एक स्वतन्त्रले जितेका थिए ।  यहाँ कांग्रेसका वडाध्यक्षहरुले पाएको एकीकृत मत १५ हजार सात सय ९५ मत छ  भने एमालेकोे १४ हजार ८ सय ७६ र माओवादीको १ हजार ६८७ मत छ । यहाँ एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारहरुले कुल १ हजार ५६ मत पाएका छन् । 

गठबन्धन भर्सेस एमालेको प्रतिस्पर्धा हुँदा स्थानीय तहको मतअनुसार गठबन्धन बलियो देखिन्छ । त्यसो त दलगत हिसाबमा पनि कांग्रेस एक्लै अन्य दलभन्दा बलियो देखिन्छ । यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले वडामा पाएको मत जोड्दा साढे १८ हजार पुग्छ ।  

चालिसे र राई बाहेक यहाँ राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट बिशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ ।सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

ससान दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले  प्रमुख दलका उम्मेदवारले पाउन मतमा प्रभाव पार्नेछन् । यस क्षेत्रमा ५८ हजार आठ सय ८९  मतदाता छन् । तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदानस्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ ।  

याे पनि ः

काठमाडौं–१ : चौथो जितको दाउमा रहेका सिंहलाई मिश्र र कँडेल चुनौती 

काठमाडौं–२ : एमालेका स्थानीय उम्मेदवारसँगको प्रतिस्पर्धामा ओनसरी कति सुरक्षित ?

काठमाडौं–४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

काठमाडौं–५ : कांग्रेसको विरासत फिर्ता गर्न पौडेललाई कति सहज ?

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्