पोखरा विश्वविद्यालमा बिएएलएलबीको पढाइ सुरु
एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने बिएएलएलबी अध्ययनका लागि करिब चार लाख शुल्क लाग्ने छ।
कास्की, कात्तिक २६ : पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन सुरु गरेको छ ।
एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने छ। बिएएलएलबी अध्ययनका लागि करिब चार लाख शुल्क लाग्ने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए।
उनकाअनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबीमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बनेको छ ।
यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानुनी अध्ययनका लागि विष्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने विश्वास लिइएको छ।
यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिक, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन् ।
यसमा अध्ययन गर्न चाहने विद्यार्थीले २०७९ मङ्सिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्ने र प्रवेश परीक्षा मङ्सिर २३ गते हुने जनाइएको छ । यस कार्यक्रमको अध्ययन–अध्यापन विश्वविद्यालयको पोखरा–३०, ढुङ्गेपाटनमा सञ्चालन हुने सूचना अधिकारी ढकालले बताए।












