Kathmandu Press

काठमाडौं-४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएपनि काठमाडौं–४ मा ०७० पछि लगातार थापाले चुनाव जित्दै आएका छन् । यसपालि ह्याट्रिक गरी इतिहास रच्ने उद्ध्श्यका साथ थापा आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन् ।
काठमाडौं-४ : गठबन्धनले गगन ढुक्क, एमालेकै गढमा राजन असुरक्षित

काठमाडौं, कात्तिक २६ : बुधबार मतदाताहरुसँगको भेटघाट कार्यक्रममा गगन थापाले भनेका थिए– सांसद जितेर कांग्रेस संसदीय दलको चुनाव लड्छु भन्नु अहंकार होइन। शीर्ष नेतालाई पछाडिको सिटमा राखेर स्टेरिङ समात्न तयार छु।

मंसिर–४ को निर्वाचनका लागि मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पनि थापाले प्रधानमन्त्री बन्न आफू तयार रहेको बताएका थिए। थापाको यो अभिव्यक्तिले दुई सन्देश दिन्छन्–उनी चुनाव जित्नेमा विश्वस्त छन् अथवा चुनाव जित्ने हतियार प्रयोग गर्दैंछन्। दुईपटकसम्म निर्वाचित भएर सांसद हुँदै मन्त्री बनेका थापा काठमाडौं–४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार छन्।

थापासँग प्रतिस्पर्धा गर्न एमालेले पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराईलाई पुनः उम्मेदवार बनाएको छ। भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट २०६९ मा ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा विद्यावारिधि गरेका भट्टराई परराष्ट्रमामिला विज्ञ हुन्। उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।

Hardik ivf

सदन र सडकमा सशक्त आवाज उठाउँदै गगन थापाको पनि राजनीतिक हैसियत फेरिएको छ। कांग्रेसको महामन्त्री रहेका थापालाई पार्टीको भावी सभापतिका रुपमा समेत हेरिन्छ।

भट्टराई ०७४ को निर्वाचनमा थापासँग तीन हजार मतान्तरले पराजित भएका थिए। यसपालि गठबन्धनलाई पराजित गरेर पहिलो पटक संसद छिर्ने उद्धेयश्यका साथ भट्टराई आक्रामक शैलीमा घरदैलो अभियानमा छन्।

gagan1668233582.jpg

एमालेको बलियो प्रभाव रहेको क्षेत्र भएपनि काठमाडौं–४ मा ०७० पछि लगातार थापाले चुनाव जित्दै आएका छन्। यसपालि ह्याट्रिक गरी इतिहास रच्ने उद्ध्श्यका साथ थापा आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिरहेका छन्।

त्यसो त थापा ०७४ तुलनामा सहज अवस्थामा छन्। तत्कालीन समयमा वाम गठबन्धन हुँदासमेत जितेका थापालाई अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनको समर्थन छ। यस हिसाबमा उनलाई जित्न कठिन नरहेको बताइन्छ।  

थापाको तुलनामा यसपालि भट्टराई थप संकटमा देखिन्छन्। एमाले फुटको प्रभाव र गठबन्धन नै उनका मुख्य चुनौती हुन्। ०७४ मा उनीसँग रहेको नेता कार्यकर्ता अहिले उनको विरुद्धमा छन्। त्यसमाथि लोकप्रिय उम्मेदवारको सामना गर्न उनलाई कडा मिहिनेत गर्नुपर्नेछ।

थापामाथि सांसद निर्वाचित भएर पनि कपन क्षेत्रको विकासमा चासो नदिएको मतदाताको गुनासो छ। पछिल्लो समय एमसिसीका सम्बन्धमा थापाले लिएको अडानले पनि  उनले पाउने मतमा प्रभाव पार्ने आकलन गरिन्छ।एमाले उम्मेदवार भट्टराईले यही कुरालाई चर्को रुपमा  प्रचार गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्।

तर, नीतिनिर्माणमा भने थापाले महत्वपूर्ण काम गरेका छन्। माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा थापाले ९ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यसबेला त्यति प्रचार नभएपनि स्वास्थ्य क्षेत्रको नीतिगत सुधारका लागि थापाले निकै महत्वपूर्ण काम गरेका छन्।

काठमाडौं–२ मा महानगरका चार वडा (१, ७, ८ र ३०) र बुढानीलकण्ठ नगरपालिकाका आठ वडा ( १, २, ८, ९, १०, ११, १२ र १३) समेटिएका छन्। गएको स्थानीय निर्वाचनमा बुढानीलकण्ठका ८ वटै वडा एमालेले जितेका थिए। महानगरतर्फका चारमध्ये तीन वडा कांग्रेसले जितेको थियो।

rajan1668233592.jpg

यस क्षेत्रमा वडाहरुमा दलले पाएको मत हेर्दा कांग्रेस र एमालेबीच कडा टक्कर देखिन्छ। एमालेले १६ हजार ५०७ मत पाउँदा कांग्रेसले १५ हजार ७६७ मत ल्याएको थियो। यहाँ माओवादीभन्दा एकीकृत समाजवादी र राप्रपा नै बलियो देखिन्छ। एकीकृत समाजवादीले २ हजार ४१४, राप्रपाले २ हजार २९३ र माओवादी केन्द्रले  ८४४ मत ल्याएको छ। यहाँ १ हजार २८ मत तटस्थ देखिन्छन्।

गठबन्धनले पाएको मत जोड्दा १८ हजार ९२१ मत पुग्छ। गठबन्धनको विपक्षमा १८ हजार ४८२ मत देखिन्छ। यसरी हेर्दा थापा र भट्टराईबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ। एमाले र राप्रपाबीच यहाँ तालमेल नभएपनि केन्द्रको निर्देशनमा यहाँ राप्रपाले एमालेलाई सघाउन सक्नेछ।

यसरी हेर्दा थापा र भट्टराई एक अर्काका बलियो प्रतिस्पर्धी हुन्। यी दुई मुख्य प्रतिस्पर्धीसहित काठमाडौं–४ मा ३१ उम्मेदवार छन्। तीमध्ये १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। ससाना दल स्वतन्त्र उम्मेदवारहरुले थापा र भट्टराईले पाउने मतमा प्रत्यक्ष प्रभाव पार्न सक्ने हुँदा यहाँको प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. ठाकुरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का रमेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का भानुकुमार खड्कालगायतले उम्मेदवारी दिएका छन्। स्वतन्त्रबाट श्यामराज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुनकुमार प्रसाई, रोहित डंगोल, रोशन वर्मा, हेमबहादुर बोम्जनलगायत उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: ११:३४ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्