संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन निधिको आह्वान

काठमाडौं, कात्तिक २४ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंको बानेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता निधिले एमालेको उक्साहटमा राष्ट्रपतिले पटक पटक संविधान उल्लंघन गरेकोले त्यसको संरक्षण गर्नुपर्ने भएकाले निर्वाचनमा गठबन्धनलाई जित दिलाउनुपर्ने बताएका हुन् ।
संविधानको रक्षा गरे संविधानले मुलुकको रक्षा गर्ने उनको भनाई छ । उनले मंसिर ४ को चुनाबमा कांग्रेसलाई विजयी गराउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले सक्षम उम्मेदवारहरु उठाएको जिकिर गरे। कांग्रेसको कुशल नेतृत्वका कारण लोकतान्त्रिक संविधान जारी हुन सकेको उनले बताए।
त्यस्तै कांग्रेस नेता मोहन बहादर बस्नेतले पार्टीमा प्रवेश नेताहरुलाई उचित सम्मान र इज्जत दिने बिश्वास दिलाए। जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले जनताको सुख, दुःखमा साथ दिएको भन्दै त्यसो गर्नु आफ्नो दायित्व नै भएको उनले बताए।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य यस्मिन ढुंगानासहित सिन्धुपाल्चोक क्षेत्र नं २ का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए।











