Kathmandu Press

पाकिस्तान टि–२० विश्वकपको फाइनलमा

बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनमा न्युजिल्यानडमाथि ७ विकेटको जित निकाल्दै पाकिस्तान फाइनल प्रवेश गरेको हो।
पाकिस्तान टि–२० विश्वकपको फाइनलमा

काठमाडौं, कात्तिक २३ : पाकिस्तान अस्ट्रेलियामा जारी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनमा न्युजिल्यानडमाथि ७ विकेटको जित निकाल्दै पाकिस्तान फाइनल  प्रवेश गरेको हो।

पाकिस्तान तेस्रो पटक टि–२० विश्वकपको फाइलन प्रवेश गरेको हो । यसअघि सुरुआती २ विश्वकपमा पनि फाइनलमा पुगेको थियो ।

सन् २००७ मा भएको पहिलो विश्वकपमा फाइनलमा भारतसँग पराजित भएको पाकिस्तानले सन् २००९ मा भएको दोस्रो टि–२० विश्वकपमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो ।

अब उसले दोस्रो पटक टि–२० विश्वकपको च्याम्पियन बन्नका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।  भारत र इंग्ल्यान्डबीचको खेल बिहीबार एडिलेडमा हुने छ। 

ओपनरद्वय बाबर अजाम र मोहम्मद रिजवानले शतकीय साझेदरी गरेपछि पाकिस्तानले १५३ रनको लक्ष्य १९.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। खेलमा दुवैले अर्धशकीय योगदान दिए।

रिजवानले सर्वाधिक ५३ रन बनाउँदा अजामले ५३ रन बनाए । रिजवानले ४३ बलमा ५ चौका प्रहार गर्दा अजामले ४२ बलमा ७ चौका प्रहार गरे। यस्तै, मोहम्मद हरिसले २६ बलमा २ चौक र १ छक्का प्रहार गर्दै ३० रन बनाए।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले २ तथा मिचेल सान्टनरले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले राम्रो सुरुआत गर्न सकेन । पावर प्लेमै २ विकेट गुमाएको न्युजिल्यान्डका लागि डार्यल मिचेल सर्वाधिक ५३ रन बनाए। टिमलाई सम्मानजक अवस्थामा ल्याउन उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै, कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन बनाउँदा डेभन कन्वेले २१ र जेम्स निसमले १६ रन बनाए।

प्रकाशित मिति: १७:२० बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्