मधेशले मालिक होइन, सेवक खोजेको हो : रवि लामिछाने
उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए।
जनकपुर, कात्तिक २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।
छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन्।
उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए। जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए।
सभापति लामिछानेले चुनाव नजिकिएसंगै मधेश प्रदेशमा रास्वपाको टिकटका लागि अग्रीम उम्मेदवारी घोषणा गर्नेहरुको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले कतिपय स्थानहरुबाट टिकट पक्का गराईदिने भन्दै आर्थिक लेनदेन समेत हुनथालेको भन्ने सुनेको बताए । सभापति लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुको सपना साकार नहुने बताए । उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे । कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन साभापति लामिछानेले आग्रह गरे । साथै उनले त्यस्तो जानकारी दिनेसमेतलाई रास्वपाले पुरस्कार दिने उद्घोष गरे ।
सभापति लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अधिकार रास्वपाले मधेशलाई दिने प्रतिब्द्धता जाहेर गरे ।






