Kathmandu Press

‘गड्स बफेलो’ ले पायो ‘स्पेसल जुरी मेन्सन अवार्ड’

मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो।
‘गड्स बफेलो’ ले पायो ‘स्पेसल जुरी मेन्सन अवार्ड’

काठमाडौं, कात्तिक २० :  क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिभलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पार्नुभएको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ। 

मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बनाइएको सो वृत्तचित्रले यसअघि पनि विभिन्न फिल्म फेस्टिबलमा अवार्ड पाएको थियो। क्यानाडाको अल्बेटामा जारी फिल्म फेस्टिबलमा महत्वपूर्ण अवार्ड जित्न सफल भएको सञ्चारकर्मी एवं छायाँकार कल्पितले जानकारी दिए। उक्त फेस्टिबल अक्टोबर २९ देखि आजसम्म जारी छ। 

Hardik ivf

यसअघि सो वृत्तचित्रले सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो। यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिबलमा छनोटमा परेको यो डकुमेन्ट्रीले काठमाडौँ माउण्टेन फिल्म फेस्टिबल (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको थियो। यस्तै, इसीमोड माउन्टेन फिल्ममा उत्कृष्ट वृत्तचित्रको उपाधि प्राप्त गरेको थियो। 

इण्डियन फिल्म फेस्टिबल अफ मेलबर्नको छनोटमा परेको सो वृत्तचित्रले द भिजन फिस्ट फिल्म फेस्टिबलमा समेत त्यसले महत्वपूर्ण स्थान हासिल गरेको थियो। 

कूल १४ मिनेट लामो यो डकुमेन्ट्री अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल एनिमल फ्याबुला, वनअर्थ अवार्ड, कलामता मन्थली इन्टरनेसनल डकुमेन्ट्री फेस्टिबलमा छनोटमा परेको थियो। निर्देशक कल्पितका अनुसार २०७७ असारमा मेलम्चीमा रिपोर्टिङमा जाने क्रममा जाँदा यो वृत्तचित्र खिच्नुभएको थियो। 

'बाढीबाट आहत भएका स्थानीयवासीको समाचार सङ्कलन गर्न मेलम्ची पुग्दा त्यहाँ स्थानीयवासीले प्रेसको गाडीलाई रोकेका थिए। बुझ्दा खेरी बाढीमा बगाएर आएको भैँसीलाई बचाउनेले रु एक लाख मागेको देखें,' उनले भने, 'त्यही भैँसीको मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै हुनुहुन्थ्यो। त्यो देखेर मैले त्यसै भिडियो खिच्न थालेँ। त्यतिबेला डकुमेन्ट्री बनाउने पनि सोचेको थिइनँ।'

वृत्तचित्र नै बनाउने नसोचेको भए पनि हाल देश विदेशमा उक्त वृत्तचित्रले राम्रै चर्चा परिचर्चा पाएको र नेपालको नाम समेत राखेको कल्पितको भनाइ छ। भैँसी जोगाउन स्थानीयवासी  भीमसेन माझीले रु एक लाख मागिरहेका थिए। होमानसिंहसँग त्यत्रो पैसा थिएन। यही विषयलाई वृत्तचित्रमा समावेश गरिएको छ। 

छयालिस वर्षदेखि विभिन्न फिल्म फेस्टिबल आयोजना गर्दै आएको बान्फ फिल्म फेस्टिबलमा उक्त वृत्तचित्र चयन हुनु नै नेपाल र नेपाली चलचित्र उद्योगका लागि खुसीको कुरा भएको कल्पितको भनाइ छ। नेपालको पर्यटन प्रवद्र्धनका लागि यसले महत्वपूर्ण योगदान दिने उनको भनाइ छ। 

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्