Kathmandu Press

‘प्रत्यक्षबाट चुनाव लड्न नसक्नु नै महिलाको पहिलो हार’ 

मुख्य भनिएका दलहरूले नै प्रत्यक्षमा महिलालाई अघि बढाउन हिच्किचाएको अवस्थामा सक्षम महिलाहरू पनि उम्मेदवारीका लागि  अघि नसर्ने प्रवृत्ति राजनीतिक क्षेत्रमा मौलाएको छ। 
‘प्रत्यक्षबाट चुनाव लड्न नसक्नु नै महिलाको पहिलो हार’ 

काठमाडौं कात्तिक  १८ : जब चुनाव आउँछ, तब चुनावी मैदानमा कोको उत्रिए भनेर आम जिज्ञासाको विषय बन्छ। त्यसक्रममा समावेशिताको प्रश्न उठ्छ र महिलाको विषय सबैभन्दा पेचिलो बनेर सतहमा आउँछ।

समानुपातिकको बन्दसूचीबारे खासै बहस हुने नगरे पनि प्रत्यक्षमा उम्मेदवार बनाउने सन्दर्भमा महिलाले एकतिर प्रश्न उठाउने र अर्कातिर पछि हट्ने गरेको तीतो यथार्थ रहेको देखिन्छ। मुख्य भनिएका दलहरूले नै प्रत्यक्षमा महिलालाई अघि बढाउन हिच्किचाएको अवस्थामा यस्ता प्रश्न उठ्नुलाई अस्वाभाविक पनि मानिँदैन। तर दलले चाहँदा पनि सक्षम महिलाहरू प्रत्यक्षमा उम्मेदवारी दिन अघि सर्न नचाहने प्रवृत्ति पनि राजनीतिमा मौलाएको पाइन्छ।  

महिला प्रतिनिधि प्रत्यक्षबाट चुनाव लड्न नखोज्नु नै पहिलो हार भएको ठान्छिन् गठबन्धनका तर्फबाट काठमाडौं ९ मा उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ कल्पना धमला। उनका अनुसार महिलाहरूले समानुपातिकबाट उम्मेदवारी दिई आफूलाई सुरक्षित पार्न चाहेको देखिनु नराम्रो पक्ष नभए पनि प्रत्यक्षमा आउन नचाहनु कमजोरी हो। समाज परिवर्तनका लागि पुरुषसँग भिड्नु आवश्यक रहेको धमला बताउँछिन्।

Hardik ivf

राजधानीमा हालै आयोजित एक कार्यक्रममा आफ्ना धारण राख्ने क्रममा उनले यस्ता धारणा राखेकी हुन्। आफू पनि उम्मेदवार बन्न अघि सरेको र पार्टीले (माओवादी केन्द्र) पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको बताउँदै उनले विभिन्न पार्टीमा अझै धेरै महिलाले उम्मेदवार बन्ने आँट गर्न नसकेको यथार्थता सुनाइन्। उनी माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत हुन्। 

मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचनमा महिलाको सहभागिता कम देखिएपछि न्याय, समानता र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) र महिला गैरसरकारी संस्था महासंघले ‘महिला जिताऔं अभियान’मा बहस गरेको थियो। 

बहसमा विभिन्न दल तथा स्वतन्त्रबाट उपत्यकाभित्रका विभिन्न क्षेत्रबाट प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका महिलाहरू सहभागी भए। उनीहरूले बहसमा आफ्ना चुनौती मात्र प्रस्तुत गरेनन्, चुनावी एजेन्डा सुनाउँदै मतदातालाई सहयोगका लागि अपिलसमेत गरे।

दुई दशकदेखि राजनीतिमा सक्रिय धमलाले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता घट्नु पराजय हुने डर मुख्य कारण रहेको बताइन्। ‘महिला हार्ने डरले चुनाव लड्न डराउँछन्,’ उनले भनिन्, ‘आर्थिक समस्याको पाटो दोस्रो कुरा हो, महिलाको सहभागिता हुनु नै पहिलो जित हो तर यहाँ प्रत्यक्षबाट चुनाव लड्नै महिला डराउँछन्।’

kalpana dhamala1667731382.jpg

कल्पना धमला

उनले समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्षबाटै सदनमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्‍याउनुपर्ने आवश्यकता औंल्याइन्। ‘माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ  प्रत्यक्षमा सातजनालाई उम्मेदवार बनाको छ,’ उनले भनिन्, ‘सबै दलले महिलालाई पनि उल्लेख्य संख्यामा प्रत्यक्षबाट उम्मेदवार बनाउनु जरुरी छ।’

पटकपटक एउटै व्यक्ति दोहोरिनुभन्दा पनि नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा उनको जोड थियो। पार्टीले राजनीतिक अनुभवका साथै  पार्टीको समर्थन गर्ने व्यक्ति खोज्ने र अनुभवी तथा सक्रिय महिलाले नयाँलाई सिट छाड्दा त्यो पुरुषकै हातमा जाने गरेको अनुभवसमेत उनले सुनाइन्। ‘अनुभवी महिला पछि हट्दा महिलाको संख्या घट्ने देखिएकाले पुनः दोहोरिएकी हुँ, मैले नयाँ पुस्तालाई अवसर नदिएको भन्न मिल्दैन,’ उनले आफू उठ्नुको कारणबारे प्रस्ट्याइन्। 

धमला लामो समयदेखि महिलाको हित, मुक्ति, जागरणका पक्षमा व्यक्तिगत तथा पार्टीगत रूपमा लड्दै आइरहेकी छन्। संविधानअनुसार महिला सहभागिता नहुन्जेल लडिरहने प्रतिबद्धता उनले व्यक्त गरिन्। ‘दुधे बालक छाडेर महिलाकै अधिकार प्राप्तिका लागि युद्धमा थिएँ। आज पनि छोराले ठुलो ममी भन्छ,’ उनले भनिन्, ‘महिलाको विषयमा बहस गर्न हिजो पनि पछाडि हटिनँ र भोलि पनि हट्दिनँ।’ 

काठमाडौं–९ मा निर्वाचित भए सो क्षेत्रको शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पु¥याई भौतिक पूर्वाधार निर्माणसँगै समग्र क्षेत्रलाई विकासको बाटोमा लैजाने प्रतिबद्धता जनाइन्। 

‘महिलालाई अंश नदिनु पनि हिंसा’

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी निवर्तमान उपप्रमुख हरिप्रभा खड्गीले पनि आफ्ना अनुभवबारे बोलिन्। उनी नेपाली कांग्रेसको काठमाडौं ६ प्रदेशसभा ‘क’बाट उम्मेदवार छिन्। उनलाई सत्ता गठबन्धनको साथ छ। खड्गीले आगामी चुनावमा निर्वाचित भए महिलालाई अंश दिलाउने विषयमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन्। ‘महिलालाई अंश नदिनु पनि हिंसा हो, त्यसैले त्यस्तो हिंसा न्यूनीकरण गर्न पहल गर्छु,’ उनले भनिन्, ‘हिजो काठमाडौं महानगर बनाएँ, अब प्रदेश बनाउँछु।’

hari prabha khadgi1667731381.jpg

हरिप्रभा खड्गी

काठमाडौं महानगर उपप्रमुख रहेका बेला संस्कृति जोगाउनुपर्छ भन्ने छाप दिएर जनताको रोजाइमा परेकी खड्गीले प्रदेशमा पनि जनताको आवाजलाई आत्मसात् गरेर अघि बढ्ने बताइन्। ‘महिला एकजुट भएर अगाडि बढे महिलाका हिंसा न्यूनीकरण कठिन छैन,’ उनले भनिन्, ‘महिला हिंसा जहाँ पनि जहिले भइरहेको छ, महिला एकजुट भएर त्यसविरुद्ध लाग्नु आजको आवश्यकता हो।’ 

नयाँ पुस्तालाई महिलाको विषयमा बहसका गोरोटो बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताइन्। ‘निर्वाचित भए महिलाका विषयलाई पहिलो प्राथमिकतामा राख्छु,’ उनले भनिन्, ‘महिलालाई आर्थिक क्रान्तिका लागि लड्न सिकाउँछु।’

‘स्वस्थ समाजमा भ्रष्टाचार न्यूनीकरण सम्भव’ 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेकी डा. तोशिमा कार्कीले ‘स्वस्थ नेपाली सुखी नेपाली’ विषयमा आफ्ना धारणा राखिन्। मतदातामाझमा जाने क्रममा उनले यही विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्। ‘व्यक्ति मात्र स्वस्थ बनाउन नभई राजनीतिक, सामाजिक क्षेत्रलाई पनि स्वस्थ बनाउन म पहल गर्छु,’ उनले भनिन्, ‘स्वस्थ समाज भए भ्रष्टाचार न्यूनीकरण असम्भव छैन।’ 

उनले महिलाका हकमा अहिले बढ्दै गएको पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचारका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। ‘आर्थिक अभावका कारण स्तन र पाठेघर क्यान्सरसँग जुधिरहेका तमाम महिलालाई निःशुल्क उपचार गराएर राहत दिन चाहन्छु,’ उनले भनिन्। 

dr toshima khadka1667731381.jpg

डा. ताेशिमा कार्की

उनी निर्वाचित भए महिलाका हकमा शिक्षा, महिला उद्यमी, युवा पुस्तालाई असल राजनीतिज्ञ बन्न पहल गर्न जोड दिने बताएकी छन्। ‘नेपालको आफ्नै राष्ट्रिय मौलिक स्वस्थ्य सेवा मोडल निर्माणका लागि पनि संसदमा जान चाहेकी हुँ,’ उनले भनिन्। 

उनी ललितपुरकै स्थानीय हुन्। ललितपुरमै हुर्केबढेकी उनले त्यहीँ नै पढेकी हुन्। पेसाले चिकित्सक उनी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्यसमेत हुन्। त्यसैलाई कारण देखाएर निर्वाचन आयोगमा उजुरी परेपछि उनको उम्मेदवारी खारेज भएको थियो। तर कात्तिक १५ गते सर्वाेच्च अदालतका न्यायाधीश कुमार चुँडालको एकल इजालासले उनको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वाेच्चको आदेशपछि उनको उम्मेदवारी कायम भए पनि निर्वाचन आयोगले सर्वोच्चको आदेश खारेज हुनुपर्ने बताएको छ। तर त्यो विषयमा केही टुंगो नलागिसकेकाले यतिखेर उनी उम्मेदवारकै रूपमा छिन्। 

‘मेडिकल काउन्सिल सदस्य बनाउन देशभरका चिकित्सकले सघाउनुभयो, ललितपुरवासीले पनि रुचाउनुहुन्छ भन्ने विश्वास छु,’ उनले भनिन्। 

‘चुनावमा खर्च भएन भने भ्रष्टाचार हुन्न’

निर्वाचनमा धेरै खर्च हुन्छ भन्ने छ। गतिलो एजेन्डा राखे र इमानदार भएर अघि बढे कम खर्चमै चुनाव लड्न सक्ने उनी बताउँछिन्, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–२ की उम्मेदवार साेविता गौतम। ‘खर्च भएन भने कमाउनुपर्छ भन्ने पनि लाग्दैन,’ उनले भनिन्, ‘त्यसैले राम्रा एजेन्डा बनाएर खर्च नगरी चुनाव जित्न चाहन्छु ।’

sobita gautam1667731382.jpg

साेविता गाैतम

आफू निर्वाचित भए युवापुस्तालाई विदेश पलायन हुनबाट बचाउन पहल गर्ने प्रतिबद्धता उनले जनाइन्। ‘युवावर्गका लागि पार्टटाइम जब आजको आवश्यकता हो, सोही एजेन्डा मैले अघि सारेकी छु,’ उनले भनिन्, ‘हिजोका दिनमा पार्ट टाइम जब आवश्यक थिएन होला तर अहिलेको युवाका लागि यो अपरिहार्य आवश्यकता हो।’  

सधैं पुराना दल र पुराना नेताका योजनाअनुसार नयाँ पुस्ता अगाडि बढ्न नसक्ने तर्क उनले गरिन्। ‘युवाका समस्यालाई युवाले नै समेट्न  सक्छन्, त्यसैले राजनीतिमा युवाको प्रवेश अनिवार्य छ,’ उनले भनिन्, ‘युवालाई जिताउन युवाबाटै सहयोग मिल्ने अपेक्षा राखेकी छ।’ पार्टीमा प्रवेश गर्नुअघि लामो समयदेखि आफूले सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको उनले बताइन् । 

‘एकल महिलाको हिम्मतका लागि मेरो उम्मेदवारी’

कार्यक्रममा ललितपुर ३ बाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार सविता महर्जन आर्थिक पाटो बलियो नभए चुनाव जित्न नसक्ने बताउँछिन्। ‘कतिपयले स्वतन्त्र उम्मेदवार बनेकोमा तारिफ गरे, कतिपयले आफ्ना विचार समेटिएको भिडियोको समेत पैसा मागे,’ उनले भनिन्, ‘त्यति सामान्य विषयमा त पैसा मागियो। वास्तवमा बिनापैसा निर्वाचन जित्न नसकिने रहेछ।’ 

sabita maharjan1667731382.jpg

सविता महर्जन

उनले एकल महिलाको हिम्मतका लागि आफूले चुनावी मैदानमा जाने निर्णय लिएको बताइन्। उनी पनि एकल महिला हुन्। ‘मुस्किल भए पनि आफूजस्तै एकल महिलाको हिम्मत बन्ने मनशायले चुनावी मैदानमा उत्रिएकी छु,’ उनले भनिन्, ‘एकल महिलाको पीडा अरूले बुझ्न सक्दैनन्, त्यसका लागि मैले लडाइँ लड्नु छ।’ उनले आफ्नो पहिलो प्राथमिकतामा एकल महिलाको हित, महिला उद्यम, कृषि क्षेत्रलाई राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्