कस्तो छ साैगात, अर्पण, प्रशान्तफ, वर्षा स्टारर ‘लाखे’?
छायांकन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। सिजन अर्यालले लेखेको कथामा बदलाको भावमा छ ।
काठमाडौं, कात्तिक १९ : अहिले फिल्म हलमा ‘लाखे’ प्रदर्शनरत छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, बर्षा राउतलगायतको अभिनय छ।
छायांकन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। सिजन अर्यालले लेखेको कथामा बदलाको भावमा छ ।
समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उनको श्रीमती सिमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउछन्।
यी दुईसँगै उनले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित रुम्बा)सँग बैंक लुटेर त्यहाँको पैसा जगलमा लगेर काठमा लुकाउँछन्।
नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केसको जिम्मा आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ ।
के पैसा मनोजले लुकाए ? उनी जनककै सहयोगी हुन् ? वा समीरले नै नयाँ योजना बनाए ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ।
विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए। ‘फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ–आफ्नो भूमिकामा फिट छन्’, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, ‘यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।’
‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताए । उनले भने, ‘विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ।’
करिब रु तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ ।












