Kathmandu Press

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु

शुक्रबार साँझ चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले महोत्सवको उद्घाटन गरिन्। 
नेपाल युरोपेली युनियन चलचित्र महोत्सव सुरु

काठमाडौं, कात्तिक १२ : नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करणको शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ। 

शुक्रबार साँझ चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले महोत्सवको उद्घाटन गरिन्। 

उनले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको भन्दै देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने जानकारी दिइन्। 

Hardik ivf

'महोत्सव हाइब्रिड मोडलमा सञ्चालन हुनेछ। यसलाई चलचित्र विकास बोर्डको हलमा र अनलाइन हेर्न सकिनेछ', राजदूत डेप्रेजले भनिन्। उनले महोत्सव पहिलोपल्ट काठमाडौँ बाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी दिइन्।

महोत्सवको सद्भावनादूत रहेकी अभिनेत्री केकी अधिकारीले महोत्सवलाई सिर्जनाको पर्वको रूपमा लिने गरेको बताइन्। 

'महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै फिल्म साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मलाई छ', अभिनेत्री अधिकारीले भनिन्। 

उद्घाटनसँगै एक घन्टा समयावधिको रीता हुतानेनद्वारा निर्देशित ‘गड्स् अफ मोलेन्बेक’ शीर्षकको फिल्म देखाइएको थियो। डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाको आँखाबाट त्यहाँ बसोबास गरिरहेका मुस्लिम समुदायको सङ्कटलाई देखाइएको थियो।

ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाका रुपमा लिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ। शनिबारदेखि मङ्गलबारसम्म नियमित चल्ने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्।

सुर्खेतमा महोत्सव कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयमा आयोजना गरिने छ। सुर्खेतमा पाँच युरोपियन तथा तीन नेपाली चलचित्र प्रदर्शित गरिने तालिका छ।

प्रकाशित मिति: १४:४३ बजे, शनिबार, कात्तिक १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्