महापुरूषको बम्पर ओपनिङ
सामाजिक कथामा बनेको फिल्मको वर्ड अफ माउथ राम्रो भएको र लागतार विदा परेकाले फिल्मले अझै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।
काठमाडौं, कात्तिक १२ : प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ले घरेलु बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ।
देशभरका ११२ हलमा प्रदर्शनमा आएको हरिवंश आचार्य स्टारर फिल्मले पहिलो दिन ६० लाख बढी ग्रस कलेक्सन गरेको छ। फिल्मले काठमाडौं उपत्यकासहित देशका ठूला शहरमा ७० प्रतिशतभन्दा बढी अकुपेन्सी गरेको छ।
यो प्रारम्भिक अनुमान मात्र हो। देशभरका हलका आधिकारिक विवरण आइसकेको छैन, त्यसैले ओपनिङ अकुपेन्सी बढ्ने अनुमान छ।
सामाजिक कथामा बनेको फिल्मको वर्ड अफ माउथ राम्रो भएको र लागतार विदा परेकाले फिल्मले अझै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटर दुवैमा दर्शकको राम्रो साथ पाएको छ।

अभिनेता हरिवंश आचार्य हलहलमा दर्शकलाई भेट्दै हिँडेकाले दर्शक उत्साहित छन्।
प्रदीप भट्टराई निर्देशित यो सोसल ड्रामा फिल्मले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा भन्छ । हरिवंशसहित फिल्ममा रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीको प्रमुख भूमिका छ ।
दीपेश म्याक्स खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।












