Kathmandu Press

फ्राइडे सिनेमा : एक्लोपनको कथामा आधारित ‘महापुरुष’

फ्राइडे सिनेमा : एक्लोपनको कथामा आधारित ‘महापुरुष’

काठमाडौं, कात्तिक ११ : फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसकेका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका हुन्। 

सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वर्ल्ड प्रिमियर र उपत्यकाबाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।  

Hardik ivf

फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण केसी (हरिवंश)ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन्। उहाँको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी (रवीन्द्र) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्छन्। कान्छो छोरा विज्ञान (अरुण) भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहेका छन्। 

आदर्शनगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन्। आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उनलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा (अन्जना)सँग डिपेन्डेन्टमा जान तयार छन्। यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा हुन्छिन् । उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुन्छन्। 

सम्धी एक्लै र आदर्शनगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिन्छन् । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुन्छन्, बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उनले सुगासँग आफ्नो मनको कुरा गर्ने गर्छन्। श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस गर्छन् । यहीँ कारण उनी बिरामी पर्छन् । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम (राजाराम)सँग छोराहरूले नाटक हेर्न पठाउँछन् । 

त्यहाँ हरिवंशको भेट फुलमाया ९गौरी०सँग हुन्छ । विस्तारै उहाँहरू नजिकिन्छन् । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्छन् । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायालाई घरमै ल्याउँछन् । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ । बालकृष्ण र फुलमायको विवाह होला त ? आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला ? विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला ? यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ । 

‘हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ,’ निर्देशक भट्टराईले भने। अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिए। ‘फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ । दर्शकले मनोरँजनसँगै हाम्रो समाजको छुट्टै रुप देख्न पाउनुहुनेछ,’ कार्यकारी निर्माता बानियाँले भने । षट्कोण आर्टस प्रालिको ब्यानारमा फिल्मलाई दीपेश खत्रीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, कात्तिक ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्