‘साना साना सपना’ नाटक प्रदर्शन
राज्य तथा स्थानीय सरकारले अपनाएको विकासको योजना र कामसँग जनताको आवश्यकताको तालमेल कसरी हुनसक्छ र खास विकास के हो भन्ने बहस नाटकमा प्रस्तुत गरिएको छ।
दमौली, कात्तिक ९ : शिल्पी थिएटरको मुक्त रङ्गमञ्च ‘साना साना सपना’ नाटक तनहुँको व्यास नगरपालिका–११ बेल्टारीमा प्रदर्शन गरिएको छ। युवराज घिमिरेको परिकल्पना तथा निर्देशन रहेको उक्त नाटक तिहारको अवसर पारेर प्रदर्शन गरिएको हो।
राज्य तथा स्थानीय सरकारले अपनाएको विकासको योजना र कामसँग जनताको आवश्यकताको तालमेल कसरी हुनसक्छ र खास विकास के हो भन्ने बहस नाटकमा प्रस्तुत गरिएको छ। नाटकमा दुई परिवारको कथा चित्रण गरिएको छ। किसान परिवार र नगरपालिकाका उपप्रमुखको परिवार र उनीहरुको दैनिकीलाई नाटकमा उतार्ने कोसिस गरिएको छ। एउटा किसान परिवारमा किसानले उत्पादन गरेको अन्नबालीमा मूल्य कम छ। सामान्य सरकारी काममा पनि झमेला खेप्नुपर्छ। यही किसान परिवारको नाति पुस्ता यो सबै बदल्ने अठोट गरेर राजनीतिमा लागेको छ।
नाटकमा अर्को परिवार उपप्रमुखको छ। उनको लक्ष्य राजनीतिको अझै निर्णायक स्थानमा पुग्ने हुन्छ। उनका श्रीमान् निर्माण व्यवसायी छन्।
पवित्रा खड्काको निर्देशन सहयोगी रहेको नाटकमा मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, झकेन्द्र विसी, ज्योति पोखरेल, सविन कट्टेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल लगायतको प्रस्तुति रहेको छ।
यो नाटक लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिमका २१ ठाउँमा मञ्चन गरिसकिएको जनाइएको छ।
नाटक अवलोकनपछि स्थानीय सन्तोष गोदारले नाटकमा विभिन्न विषयलाई बेजोड रुपमा उठान गरिएको बताए। ‘किसानले मल बीउ नपाएको, उत्पादन भएका वस्तुहरुले मूल्य नपाएकोदेखि सरकारी ढिलासुस्तीसम्मको विषयलाई उठाइएको नाटक यथार्थपरक छ’, उनले भने। गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले नाटक जीवन्त रहेको बताउए। युवा अभियान्ता अपार पौडेलले नाटक हरेक नेपालीका सपना भएको र प्रस्तुति र विषय गज्जब रहेको बताए।












