Kathmandu Press

असनका व्यवसायीको गुनासो : भिडभाड छ, व्यापार छैन

केही दिनयता असन, इन्द्रचोकमा निकै भिडभाड छ। फुटपाटमा व्यापार गर्न बस्नेको ध्यान भने महानगर प्रहरीतिरै देखिन्छ। महानगरका कारण साँघुरो पसलभित्र धेरै सामान राख्नुपरेको व्यवसायीहरूकाे गुनासो छ।
असनका व्यवसायीको गुनासो : भिडभाड छ, व्यापार छैन

काठमाडौं कात्तिक ८ : असनचोकको मन्दिरको छेउमा बसेकी छन्, ४७ वर्षीया सबु राई। सीतापाइला बस्ने उनी सधैं तरकारी बेच्न बस्थिन्। तर केही दिनदेखि उनी तिहार विशेष रोटी लिएर बेच्न बसेकी छन्। उनी चाडपर्वअनुसार धेरै बिक्री हुने सामग्री बेच्ने गर्छिन्। यसपटक उनले झिनियाँ (सिन्कामरी) रोटी बेचिरहेकी छन्। उनले तिहारका बेला झिनियाँ रोटी बेच्न थालेको चार वर्ष भयो।

चामलको पिठोबाट बन्ने झिनियाँ रोटी विशेषगरी लक्ष्मीपूजा र भाइटीकाको दिनमा प्रयोग गरिन्छ। फरकफरक रङबाट बनाइने हुँदा हेर्दा निकै आकर्षक देखिने यो रोटी लक्ष्मी पूजाको दिनमा लक्ष्मी र भाइटीकाको दिनमा भाइलाई दिने परम्परा रहेको सबु बताउँछिन्। ‘एक प्याकेटमा पाँचवटा झिनियाँ रोटी हुन्छन्। प्याकेटको सय रुपैयाँमा बिक्री गरिरहेकी छु,’ उनले भनिन्, ‘हामीले किन्दा ९० रुपैयाँ पर्छ।’ 

उनले तिहारका लागि बिक्री गर्न एक लाख रुपैयाँको झिनियाँ रोटी किनेकी छन्। १ लाखको सामान बेच्दा २०–२५ हजार नाफा हुने आशा राखेको उनले बताइन्। पोहोर साल ५० हजारको झिनियाँ बेच्दा १०–१५ हजार रुपैयाँ नाफा कमाएको उनले बताइन्।’ तर महानगर प्रहरीले बिक्री गर्न दिन्छ कि दिँदैन भन्ने डरमा रहेको उनी बताउँछिन्। उनी ग्राहकलाई सामान बेच्दै महानगर प्रहरी आउने डरले दायाँबाँया हेरिरहन्थिन्।  ‘सामान बेच्नभन्दा पनि महानगर आउँछ कि भन्ने डर छ,’ सबु भन्छिन्, ‘महानगरको डरले सामान बेच्नै सकिएको छैन।’ 

Hardik ivf

केही दिनयता असन, इन्द्रचोकमा निकै भिडभाड छ। फुटपाटमा व्यापार गर्न बस्नेको ध्यान भने महानगर प्रहरीतिरै देखिन्छ। महानगरका कारण साँघुरो पसलभित्र धेरै सामान राख्नुपरेको व्यवसायीहरूकाे गुनासो छ। त्यही भिडमा  ३१ वर्षीय श्रीराम शाहले असनचोकमा तीनचार दिनदेखि तिहार मसला बेच्दै आएका छन्। उनले २५० रुपैयाँदेखि १ हजार सम्म मूल्य पर्ने भाइमसला राखेका छन्।

‘तीनचार दिनदेखि भाइमसला राखेको छु, भाइटीका आउन बाँकी भएर हो कि खासै बिक्री छैन,’ भन्छन्, ‘ड्राइफुड महँगो छ, त्यसले गर्दा भाइमसला गत वर्षको भन्दा महँगो छ, ग्राहक आउँछन् महँगो भयो भन्दैै जान्छन्।’ 
उनी भिडभाड धेरै भए पनि व्यापार खासै नभएको बताउँछन्। ‘धेरै सामान पाइने भएकाले भिडभाड धेरै भएको हो तर व्यापार सोचेजस्तो छैन,’ उनले भने, ‘भाइटीका आउन बाँकी छ, बिक्री होला नि!’

काठमाडौंको मुख्य व्यापारिक क्षेत्र असन, इन्द्रचोक, विशालबजारलगायत भित्री सडकमा मानिसहरुको घुइँचो छ। मानिस र सवारीसाधनको चापले साँघुरा सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । कपडा, जुत्ता, ब्याग, भाँडापसलमा भन्दा पनि तिहारविशेष सामग्री राखेका पसलमा ग्राहकको भिड देखिन्छ। तिहार विशेष पसलमा मात्र होइन, महानगरसँग लुकीछुपी फुटपाथमा राखेका कमलको फूल, भाइमसला, रङ, सिन्कामरी रोटी बेच्न राखेका व्यापारी पनि व्यस्त भेटिन्छन्। 

इन्द्रचोकमा रहेको एक स्टोरका सञ्चालक निर सिंह भाइमसला र पूजासामग्री बिक्री भइरहेको बताउँछन्। ‘भाइमसला सामान खुद्रा र प्याकेट दुवै राखेका छौं, त्यसैले रम्रमे बिक्री भइरहेको छ,’ उनले भने, ‘अन्य दिनभन्दा तिहारमा खुद्रा काजु, किसमिस, नरिवल, बदामलगायत परिकार धेरै बिक्री हुन्छ।’

काजु, किसमिस, छकडा, ओखरलगायत सामग्री सधैं बिक्री भइरहन्छ। तर तिहारको समयमा धेरै बिक्री हुने उनको अनुभव थियो। तर यसपटक तिहारको सुरुवाती दिन भएकाले सामान्य व्यापार भएको निर बताउँछन्।  ‘तिहारको सबैं मसला हालेर प्याकेटमा बिक्री गर्नु र खुला सामग्री बिक्री गर्नु उस्तैउस्तै शुल्क पर्छ,’ उनले भने, ‘ग्राहकको मागअनुसार दिन सकियोस् भनेर प्याकेटमा राखेका हांै।’  

उनले पसलमा दुई सय रुपैयाँको प्याकेटदेखि एक हजारभन्दा बढी शुल्कको भाइमसला बिक्री गर्न राखेका छन्। ‘२–३ सय मूल्यका २–३ हजार प्याकेट, ३ सय देखि ५ सयसम्मको ७–८ हजार प्योकट र सोभन्दा माथि ३–४ हजार प्याकेट बनाइएका छौं,’ उनले भने, ‘महँगो शुल्कभन्दा पनि ४–५ सयको धेरै बिक्री हुन्छ।’ 

तिहारको समयमा भाइमसलालगायत काजु, किसमिस, बदाम, छकडा, नरिवल आदि पोषणयुक्त खानेकुरा धेरै बिक्री हुने शाह बताउँछन्। ‘बजारमा प्रतिस्पर्धा छ, हाम्रो पुरानो पसल भएकाले चलेकै छ,’ उनले भने, ‘सधैं बिक्री हुने सामान भएकाले तत्काल बिक्री नभए पनि चिन्ता छैन।’ 

असन हुँदै वसन्तपुरसम्म पुग्ने सडकको बीचबीचमा रङ तथा कमलको फूल बेच्ने व्यक्ति प्रशस्त भेटिन्छन्। कसैले एउटा कमलको फूलको मूल्य ५० रुपैयाँमा भनेका छन् भने कतै जोडीको ५० रुपैयाँमा बिक्री गरिरहेका छन्। 

असन हुँदै इन्द्रचोक कमलको फूल बेच्दै हिँडिरहेका २९ वर्षीय सन्तोष शाहले गोटाको ३५ रुपैयाँका दरले एउटा बेचिरहेका छन्। उनी आफूले असनका व्यपारीसँग ३० रुपैयाँका दरले किनेको बताउँछन्। ‘भारतबाट तथा आफ्नो गाउँबाट ल्याएकाले अलि सस्तोमा दिएका होलान्, मैले यही किनेको भएकाले गोटाको ५ रुपैयाँ नाफा लिएर बेचेको हुँ,’ उनले भने, ‘कमलको फूल पहिलोपल्ट बिक्री गरेकी हुँ, त्यसैले वास्तविक मूल्य कति पर्छ थाहा छैन।’

इन्द्रचोकका व्यापारी प्रकाशरत्न शाक्य भिड सबैं हुने भए पनि चाडबाडमा धेरै हुने बताउँछन्। ‘भिडभाड सधै यस्तै हो, चाडपर्वको समयमा अलि धेरै हुन्छ। भिडभाड जस्तो व्यापर छैन,’ उनले भने, ‘आजकाल व्यापारीहरू धेरै भएकाले पनि बिक्री सामान्य भएको हो, पहिलाको जस्तो एकदुईवटा मात्र पसल हुँदैनन्।’ 

उनले दुईतीन दशक काजु, किसमिस, नरिवल, बदामलगायत परिकार मात्र बेच्दै आएका छन्। उनी पहिला पसल कम हुने हँुदा ग्राहक लाइन लागेर सामान किन्ने गरेको अनुभव सुनाउँछन्। ‘पुरानो पसल भएकाले ग्राहक आउँछन् तर पहिलाको जस्तो भिड हुँदैन,’ 

उनले पनि अन्य पसलमा जस्तै २ ५० रुपैयाँ प्याकेट देखि एक हजार रुपैयाँ प्याकेट पर्ने भाइमसला बनाएका छन्। उनी पनि तिहार सुरु भएसँग चहलपहल बढिरहेको बताउँछन्। ‘बाटोमा यात्रुको भिड छ, तिहार लागेकै हो,’ उनले मुसुक्क हाँस्दै भने, ‘बाटोमा भिड देखिएर के गर्नु, पसलमा धेरै ग्राहक छिर्दैनन्।’ 

 

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, कात्तिक ८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्