अध्यापन छाडेर फूल खेती, सयपत्रीबाटै लाखौं आम्दानी
‘पहिले सयपत्रीले खासै बजार पाउँदैनथ्यो, अहिले धेरै माग बढिरहेको छ। जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन।’काठमाडौं, कात्तिक ६ : सयपत्री फूल टिप्न, माला बनाउन र बेच्न व्यस्त छन्, चितवनकाे भरतपुर नगरपालिका-२६ का ६२ वर्षीय दीपक पाख्रिन। तिहारका कारण सयपत्रीको माग ह्वात्तै बढ्दा उनलाई यतिखेर भ्याइनभ्याइ भएको हो ।
यसपालिको तिहारका लागि दीपकले चार बिघा क्षेत्रफलमा सयपत्री लगाएका छन्। अहिले उनको बारीभरि ढकमक्क भएर फुलेका फूल धमाधम टिप्दै बजार लाँदै बेच्ने क्रम जारी छ। तिहारमा भारतबाट फूल आयात नभए राम्रै व्यापार हुने अपेक्षा उनको छ। तिहारमा सयपत्रीको व्यापार राम्रो हुने आशाले यसपटक दोब्बर क्षेत्रफलमा सयपत्री लगाएको उनी सुनाउँछन्।
‘२०७८ सालमा दुई बिघामा सयपत्री लगाएको थिएँ। माग पूरा गर्न धौधौ प¥यो। त्यसैले यसपपालि चार बिघामा सयपत्री लगाएको हुँ,’ उनले भने, ‘माग आइरहेको छ, बजार पाए रामै्र आम्दानी हुन्छ।’
उनले सयपत्री फूल खेती गर्न थालेको दुई दशक हुन लाग्यो। ‘सयपत्री फूलाउन थालेको १८ वर्ष भइसक्यो,’ उनले भने, ‘नर्सरी सुरु गरेको त झनै २६ वर्ष भइसक्यो।’ तिहारअघि फूलको काम गर्न १२/१३ जना कामदार लगाउने उनले दैनिक काममा सातजना खटाएका छन्। ‘फूल रोप्ने, टिप्ने, माला उन्ने समयमा आवश्यकताअनुसार कामदार थपघट भइरहन्छ,’ उनले भने ।
चार बिघा क्षेत्रफलमा सयपत्री फूल लगाएको दीपकको पहिलोपल्ट हो। त्यसैले बजार पाउने हो कि होइन भन्ने डर थियो। अहिले माग आएको देख्दा चार बिघाको सयपत्रीले पुग्छ कि पुग्दैन भइरहेको उनी बताउँछन्। ‘गत वर्ष माग धेरै आएकाले यसपटक आँट गरेर तिहारका लागि ४ बिघामा सयपत्री फुलाएको हुँ,’ उनले भने, ‘तिहार विशेषमा लगाउँदा नाफा हुन्छ कि हुँदैन, अनुभव गर्नुपर्यो।’
तिहारको फूल निकालिसकेपछि दुई बिघा क्षेत्रफल पुनः जग्गावालालाई फिर्ता गरिने उनी बताउँछन्। उनले तिहारका लागि सयपत्री उत्पादन मात्र जग्गा थप दुई बिघा थप भाडामा लिएका हुन्। ‘यसपटक राम्रो व्यापार भए २०८० को दसैंमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु,’ उनले भने, ‘वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ।’
उनले २६ वर्षअघिसम्म काठमाडौंमा पढाउने काम गरेका थिए। ‘काठमाडौंमा बसेर १० वर्ष पढाउने काम गरें,’ उनले भने, ‘त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालें, अन्ततः व्यवसाय नै फूल खेती बन्यो।’
यसपालिको तिहारमा उनले एउटा मालाको १ सय रुपैयाँमा बिक्री गरिरहेका छन् भने प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री गरेको व्यवसायी दीपक बताउँछन्। ‘तिहारबाहेकका दिनमा एउटा माला बेच्दा ३०/३५ रुपैयाँ र प्रतिकेजी २÷३ सय रुपैयाँमा बिक्री हुन्थ्यो,’ उनले भने, ‘आफैं माला उन्न रुचाउनेहरूले सयपत्रीका थुँगा जोखेर केजीकेजी लैजान्छन्।’
उनी अन्य दिनका तुलनामा तिहारमा सयपत्रीको मूल्य झन्डै दोब्बर हुने बताउँछन्। ‘यसपटक तिहारका लागि २ लाख रुपैयाँ लगानी गरेर सयपत्री लगाएको छु, चार–पाँच लाखको सयपत्री बिक्री हुने अनुमान छ,’ उनले भने, ‘भारतीय फूल भित्रिएन भने नेपाली फूलले मूल्य पाउँछ ।’
फूल खेती गरेरै वार्षिक रूपमा २५-३० लाख रुपैयाँको कारोबार हुन्छ भने ४-५ लाख रुपैयाँ नाफा हुने उनको अनुभव छ । ‘फूल व्यवसायबाटै कम लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘मैले २६ वर्षअघि ४-५ हजार रुपैयाँमा नर्सरी सुरु गरेको थिएँ। नर्सरी गर्दागर्दै १८ वर्षअघि सयपत्री खेती व्यावसायिक रुपमै थालेको थिएँ।’
अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उनको भनाइ छ। ‘तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ,’ उनले भने, ‘बिउ आफैं खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ।’
हिजोआज सयपत्री फूल व्यवसाय रूपमा सुरु गर्न करिब ५० हजार रुपैयाँ भए पुग्ने उनी बताउँछन्। ‘पहिला सयपत्री फूलहरुले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ,’ उनले भने, ‘अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।’
फूलप्रतिको मोह भएकै कारण ६२ वर्षीय दीपक अहिले पनि दिनभर फूलबारीमै भेटिन्छन्। उनी आफ्नो पेसामा सन्तुष्ट छन्। आफूलाई मनपर्ने काम भएकाले फूलहरूको काम गर्न गाह्रो नहुने उनी बताउँछन्।
उनले २६ वर्षअघिसम्म काठमाडौंमा पढाउने काम गरेका थिए। ‘काठमाडौंमा बसेर १० वर्ष पढाउने काम गरें,’ उनले भने, ‘त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालें, अन्ततः व्यवसाय नै फूल खेती बन्यो।’
उनी फूल स्याहारसुसार गर्न निकै पराउँछन्। फूल व्यवसायले उनका ६ जनाको परिवार मात्र नभई रोजगारीसमेत उपलब्ध गराउन सकेकोमा खुसी व्यक्त गर्छन्। ‘इच्छा भए थोरै लगानीमा फूल व्यवसाय गर्न सकिन्छ,’ उनले भने, ‘रहरका लागि नर्सरी सुरु गरेको थिएँ, अहिले सयपत्री धेरै लगाउने व्यक्तिका रूपमा चिनिन्छु।’
उनी नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउँछन्। ‘१२ महिना उत्पादन गर्न नसकेपछि सिजनमा मात्र उत्पादन गरे पनि गुजारा चल्छ,’ उनले भने, ‘आफ्ना जग्गा बाँझो राखेर खाडीतिर जानुभन्दा युवाले यस्ता व्यवसायलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ।’