Kathmandu Press

कपनका कविहरूबाट तिहारको स्वागत

कविता, मुक्तक, गजल, हाइकु र सुसेलीमार्फत उनीहरूले तिहारजस्ता पर्व र संस्कृतिको स्वागत गर्दै सीमारक्षा र देशभक्तिमा पनि जोड दिए। 
कपनका कविहरूबाट तिहारको स्वागत

काठमाडाैं, कात्तिक ५ : कपन साहित्य समाज, बुढानीलकण्ठले लक्ष्मी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र प्रकृतिसम्बन्धी कविता वाचन गरेका छन्।

कविता, मुक्तक, गजल, हाइकु र सुसेलीमार्फत उनीहरूले तिहारजस्ता पर्व र संस्कृतिको स्वागत गर्दै सीमारक्षा र देशभक्तिमा पनि जोड दिए। 

Hardik ivf

कार्यक्रममा त्रिलोचन आचार्यद्वारा लिखित मुक्तकसङ्ग्रह ‘बिनासर्त’को पनि विमोचन गरियो। सङ्ग्रहमा सीमा अतिक्रमण, देशप्रेम, राजनीतिक नेताका आचरण, सांस्कृतिक विचलन, श्रमको सम्मान आदि विषयमा एक छन्दमा ६ वटाका दरले ४० छन्दमा रचिएका २ सय ४० मुक्तक छन्।

प्रायः मुक्त लयमा चतुष्पदीमा लेखिने मुक्तकमा शास्त्रीय छन्दको प्रयोग कमै पाइन्छ। निजामती कर्मचारी आचार्यका यसअघि कविता, खण्डकाव्य र निबन्ध गरी सात कृति प्रकाशन भइसकेका छन्। सिन्धुपाल्चोक, इन्द्रावती–६, बडहरेका कविले विभिन्न पुरस्कार एवं सम्मान पनि प्राप्त गरिसकेका छन्। 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कार्यवाहक सदस्य सचिव हेमनाथ पौडेलले प्रगतिशील कवि आचार्यका मुक्तकमा समाजको यथार्थप्रति आलोचनात्मक दृष्टिकोणका साथ भाग गाम्भीर्य र संरचनात्मक विशिष्टता पनि रहेको बताए।

समालोचक डा रामप्रसाद ज्ञवालीले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यकारका विशाल र गतिशील जम्बोजेट भएको विचार राखे। 

समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मण अधिकारीले विसं २०६१ मा स्थापित समाजका गतिविधिबारे प्रकाश पारेको थियो।

कार्यक्रममा गोविन्द वेदमणि, ॐ प्रसाद कोइराला, भारद्वाज मित्र, मित्रलाल पङ्ज्ञानी, बिसु केसी, श्याम रिमाल, केशव पाठक, विनोद वत्स, दुर्गा भमरकोटे, प्रमोद भण्डारी, भोला उपाध्याय र शान्ति रिसालले आआफ्ना रचना प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: १२:५८ बजे, शनिबार, कात्तिक ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्