Kathmandu Press

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ

काठमाडौं, कात्तिक ३ : हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु,’ अभिनेता श्रेष्ठले भने। महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ। 

उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन्। यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् । ‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गरेका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ,’ अभिनेता श्रेष्ठले भने। 

Hardik ivf

लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए। ‘काठमाडौँमै छायाङ्कन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ,’ निर्देशक भट्टराईले भने। 

उनीहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए। पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे। ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु,’ अभिनेता आचार्यले भने। फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन्। 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, कात्तिक ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्