शहीद ए डिभिजन लिगलाई कतार एयरवेजकाे एक कराेड ७० लाख
काठमाडौं, मंसिर २७ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का....

काठमाडौं, मंसिर २७ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार, कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप एक करोड ७० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यो रकम दुई चरणमा रकम उपलब्ध गराउने जनाएको छ।
एयरवेजले पहिलो चरणमा एक करोड दुई लाख तथा दोस्रो चरणमा ६८ लाख प्रदान गर्नेछ। यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एयरवेजका देशीय निर्देशक मोहमद इमानले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजसितको सम्झौताले लिग आयोजना गर्न सहज भएको बताए।
प्रतियोगितामा सहभागी हुने क्लबलाई तयारीस्वरुप प्रतिक्लब २० लाख उपलब्ध गराउने अध्यक्ष शेर्पाले बताए।
शनिबारदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लब खेल्दैछन्। लिगको पुछारमा रहने एउटा टोलीको घटुवा हुनेछ।
लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौ हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। हरेक खेलको विजेताले ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ।
यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही एक लाख ५० हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले एक लाख पुरस्कार पाउनेछ।
लिगको उद्घाटन खेल दशरथ रङ्गशालामा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच शनिबार हुनेछ।











