एनपिएलमा पोखरामाथि जनकपुरको जित
आइतबार साँझ टियू मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हरायो। जनकपुरले लागतार दोस्रो जित निकाल्दा पोखराले भने लगातार दोस्रो हारको समाना गरेको छ।
काठमाडौं, कात्तिक १५ : ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङ गरेपछि जनकपुरले बोल्ट्सले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।
आइतबार साँझ टियू मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हरायो। जनकपुरले लागतार दोस्रो जित निकाल्दा पोखराले भने लगातार दोस्रो हारको समाना गरेको छ।
१४८ रनको लक्ष्य पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो। कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउँदा विपिन आचार्य २०, विपिन खत्रीले १६ र किरण ठगुन्ना १५ रन बनाए।
पोखरालाई कम स्कोरमा रोक्न जनकपुरका मोइन अलीले ३ विकेट लिए। उनले १ मेडन राख्दै मात्र १३ रन खर्चिए। यस्तै, सैफ हसन र हरमित सिहंले समान २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित७ विकेटको क्षतिमा १४७ रन बनाएको थियो।
जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मोइन अली २१ रन बनाए। यी दुईले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै टिमलाई बलियो सुरुआत दिलाएका थिए।
यस्तै, युवा ब्याट्सम्यान अविशेक तिवारी २४ रन बनाउँदा जिम्मी निसम ११ रनको योगदान दिए।
पोखराका सकिब अल असनले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिँदा मेहदी हसन, मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नेले समान एक विकेट लिए।
एनपीएलमा सोमबार २ खेल हुनेछ। पहिलो खेलमा काठमाडौँ गोखार्ज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने छन्।






