‘तिहारको माग धान्न ६ महिनाअघिबाटैै पाला बनाउँछौं’
‘कक्षा १० भन्दा अगाडि पढाइ अगाडि बढाउन सकिनँ। रोजगारीका लागि विभिन्न ठाउँमा भौंतारिँदा पनि सोचेजस्तो भएन। अन्ततः पुर्ख्यौली पेसालाई निरन्तरता दिएँ।’काठमाडौं, कात्तिक २ : गत बिहीबार भक्तपुर नगरपालिका–४ को पोट्टी स्क्वायरमा कालो माटो ढुंगामाथि पछार्दै थिए, ३० वर्षीय युवक विवेक प्रजापति। माटोमा भएका ससाना गिर्खा, ढुंगा छान्न पटकपटक दुई हातले उचाल्दै माटोलाई ढुंगामा पछारेका हुन्।
झन्डै १५ मिनेट त्यसो गरेपछि उनले माटोलाई विद्युत्बाट घुम्ने चक्कामा राखे। चक्का घुमिरहँदा विवेक आफ्ना औंलाले माटोलाई पालाका आकारमा ढाल्न व्यस्त बने। तिहार नजिकिँदै गर्दा उनलाई पाला बनाउन भ्याइनभ्याइ छ।
पोट्टी स्क्वायरवरिपरि पाला, कलस, खुत्रुके, हात्ती, गैंडा, शिवको मूर्तिलगायत माटोका थुप्रै भाँडा तथा सामग्री सुकाइएका थिए। विवेक पनि पाला बनाउँदै घाममा सुकाउँदै गरिरहेका थिए।
‘अर्डर’ धेरै भएकाले ठुला आकारका पाला बनाउनतिर आफू लागिपरेको उनले बताए। ठुलो पाला प्रतिओटा १५ रुपैयाँ पर्ने उनले जानकारी दिए। ‘तिहारका लागि १५ हजार ठुला पाला बनाउने अर्डर आएको छ,’ उनले भने, ‘अल्छी नगरी बिहानदेखि बेलुकासम्म बनाउँदा ४–५ सय पाला बनाउन सकिन्छ।’
यो सालको तिहारका लागि गत वैशाखदेखि नै पाला बनाउन थालेको उनले बताए। उपत्यकाभरिका थुप्रै स्थानका व्यवसायीले आफूलाई पालाको अर्डर गरेको बताउँदै उनले भने, ‘खुद्राभन्दा पनि अर्डरबमोजिम बनाउँदा फाइदा हुन्छ। तुलनात्मक रूपमा तिहारमा माग बढी हुँदा पाला बनाउने अर्डर बढी नै आउँछ, अरु बेला पनि पालाबाहेक अन्य सामग्री बनाउने अर्डर आइरहन्छ।’
‘तिहारको माग धान्न वैशाखदेखि पाला बनाउँछौं,’ उनले भने, ‘यसपालि व्यवसायीका माग अनुसारका पाला लगभग बनाइसकियो। अब खुद्रा बिक्रीका लागि बनाउने तयारी गर्दैछु।’
भक्तपुरको नेवार समुदायमा कालो पाला प्रयोग हुने गर्छ। त्यस्ता पाला बनाउन पनि आफू जुटिरहेको उनले बताए। ‘भक्तपुरका स्थानीयले प्रयोग गर्ने भएकाले तिहारमा कालो पालाको खुद्रा बिक्री धेरै हुन्छ। त्यसैले त्यस्ता सानाठुला पाला बनाउन व्यस्त छु,’ उनले भने।
उनले यसपालिको तिहारका लागि गत वैशाखयता ६ महिनाको अन्तरालमा ठुलो आकारका ४० हजारको हाराहारीमा पाला बनाएको जानकारी दिए। उनले प्रतिगोटा १० रुपैयाँमा बिक्री गरिने पाला पनि २५ हजारजति बनाएका छन्। ‘५ रुपैयाँ पर्ने पाला २५ देखि ३० हजारजति बनाएँ,’ उनले भने, ‘दर्जनको १५–२० रुपैयाँ पर्ने पाला ४० देखि ५० हजार बनाएँ।’
पालालगायत माटोका अन्य भाँडा बनाउने काम सधैं हुने बताउँदै उनले भने, ‘अरूबेला खुत्रुके, कलश तर तिहारमा चाहिँ पाला धेरै बिक्री हुन्छ।’
उनले माटाको भाँडा बनाउने काम गरुन्जेल खानलाउन दुःख नहुने बताए। तर काम गर्न नसकिनेबित्तिकै उपचार गर्ने पैसासमेत नहुने भन्दै गुनासो पनि गरे।
उनले पालालगायत भाँडा बनाउने माटो पाउन गाह्रो पर्न थालेको बताए। ‘पहिले पाला बनाउन आवश्यक माटो सजिलै पाइन्थ्यो। अहिले गाह्रो पर्दै गएको छ। अहिले पाला बनाउन चाहिने कालो, खैरो, रातो माटो किन्नुपर्छ,’ विवेकले भने।
उनले ६ महिना पाला बनाउन पुग्ने माटो एकैपटक खरिद गर्ने गरेको जानकारी दिए। एक ट्रिप माटोको १२–१३ हजार रुपैयाँ पर्छ। उनले ६ महिनाका लागि २–३ ट्रिप माटो खरिद गरेर राख्ने गरेको सुनाए। ‘पहिल्यै माटो किनेर थुपारेर राखिन्छ। त्यसलाई पाला बनाउने बेलामा पानीले भिजाउँदै निकालिन्छ।’
उनी पाला बनाएरै वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउँछन्। पाला सुकाउने र बेच्ने ठाउँ निजी भएकाले खर्च कम हुने र परिवारको गुजारा चलिरहेको उनले बताए।
पुर्ख्यौली पेसाको निरन्तरता
भक्तपुर–४ निवासी विवेकले १२÷१३ वर्षको उमेरमै पाला बनाउन सिकेका हुन्। उनले भक्तपुरको प्रभात माविबाट कक्षा–१० सम्म पढेका छन्। विद्यालय छुट्टी हुनासाथ उनी हजुरबुबा तथा बुबालाई सघाउन माटोको भाँडा बनाउन तम्सिन्थे। त्यसो गर्दा उनलाई रमाइलो लाग्थ्यो। तर अहिले उनी व्यावसायिक रुपमै माटाका भाँडा बनाउने गरेको बताउँछन्।
माटाको भाँडा बनाउनु उनको पुर्ख्यौली पेसा हो। उनका बुबा–हजुरबाले माटोका पाला, खुत्रुके, कलशलगायत सामग्री बनाउने पेसा अँगालेको हुँदा उनी पनि व्यावसायिक रूपमै त्यसमा लाग्न सकेका हुन्।
‘मैले कक्षा १० भन्दा अगाडि पढाइ अगाडि बढाउन सकिनँ। रोजगारीका लागि विभिन्न ठाउँमा भौंतारिए। सोचेजस्तो भएन,’ उनले भने, ‘अन्ततः पुर्ख्यौली पेसालाई नै अपनाएँ। ६÷७ वर्षदेखि म यसैमा संलग्न छु। कसै न कसैले पुर्ख्यौली पेसालाई निरन्तरता दिनु आवश्यक छ।’
उनी परिवारका एक्ला छोरा हुन्। परिवारको जिम्मेवारी वहन गर्न कमाइ गर्नैपर्ने बाध्यता उनलाई थियो। त्यसैले पुख्र्यौली पेसालाई निरन्तरता दिएको उनी बताउँछन्। ‘खट्न सके कमाइ राम्रै हुन्छ,’ उनले भने, ‘यही पेसाबाट चारजनाको परिवार चलेको छ।’
वरिपरिका व्यवसायीको हौसलाका कारण सो पेसामा टिकिरहेको उनलाई लाग्छ। उनका वरिपरि कम्तीमा ३० वर्ष काम गरेकाहरू मात्र छन्। अनुभवीहरूले नयाँ पुस्ताले पनि पुर्ख्यौली पेसालाई अगाडि बढाउनुपर्ने हौसला दिने गरेको उनी बताउँछन्। ‘पहिला गुजारा चलाउन काम गरे पनि अहिले व्यावसायिक रुपमै यही काम अगाडि बढाएको छु,’ उनले भने। उनका आमा र पत्नीले पाला सुकाउन, उठाउन र रङमा डुबाउन सहयोग गरिदिने उनले सुनाए।
विवेक बिहान ७/८ बजेदेखि साँझ ८÷९ बजेसम्म पसलमा पाला बनाउने, बिक्री गर्ने काममै व्यस्त हुन्छन्। त्यसकारण उनी अहिले पोट्टी स्क्वायरमा युवाका लागि प्रेरणाका स्रोत बनेका छन्।