असाममा कर्फ्यू उल्लंघन, हजारौं नागरिक सडकमा
नयाँ दिल्ली, मंसिर २६ : भारतको केन्द्रीय सरकारले ल्याएको नागरिकता संशोधनसम्बन्धी कानुनको विरोधमा पूर्वोत्तर राज्यमा प्रदर्शन जारी रहेको छ। सरकारले कर्....
नयाँ दिल्ली, मंसिर २६ : भारतको केन्द्रीय सरकारले ल्याएको नागरिकता संशोधनसम्बन्धी कानुनको विरोधमा पूर्वोत्तर राज्यमा प्रदर्शन जारी रहेको छ। सरकारले कर्फ्यू लगाएपछि नागरिक सडकामा ओर्लिएका छन्।
बिहीबार बिहानैदेखि असामका नागरिक प्रदर्शनमा उत्रिएका हुन्। सरकारले कर्फ्यू लगाएको छ। गुहाटीमा भने कर्फ्यूको उलंघन गर्दै प्रदर्शन भइरहेको छ।
नॉर्थ ईस्ट स्टुडेन्ट अर्गनाइजेसन (नेसो)को नेतृत्वमा तीन दिनदेखि प्रदर्शन भइरहेको छ। आज भने कृषक मुक्ति संग्राम समिति र अल असम स्टुडेन्ट युनियनले सर्वसाधारणलाई विरोधमा उत्रिन अपिल गरेको छ।
प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजना)का नेताको घरमा समेत ढुंगामुडा गरेका छन्। उनीहरुले नयाँ कानुनको विरोध गरेका छन्।
पूर्वोत्तर राज्यका नागरिकको प्रदर्शनका कारण हवाइसेवा अवरुद्ध भएको छ। त्यस्तै, असाम र गुहाटी भएर जाने सबै रेल रद्द गरिएको छ।
भारतीय सैनिकले असामका विभिन्न शहरमा झण्डा बोकेर मार्चपास गर्न थालेका छन्। तैपनि, स्थानीय वासिन्दाले प्रदर्शन जारी राखेका छन्।
मोदी नेतृत्वको सरकारले तीन दिन अघि नागरिकतासम्बन्धी कानुन संशोधन गर्ने विधेयक ल्याएको थियो। लोकसभाबाट पास भएको विधेयक बुधबार राज्यसभाले पनि पास गरेको छ। जसमा हिन्दु, बौद्धलगायत केही जातिका नागरिकलाई पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट आउदा सहजै भारतीय नागरिकता दिनसक्ने व्यवस्था गरिएको छ।
यसमा मुस्लिम र अल्पसंख्यकप्रति विभेद गरेको भन्दै विरोध भइरहेको छ। भारतको संविधानविपरित सरकारले जातीय विभेद बढाउने गरि कानुन ल्याएको कांग्रेसलगायत विपिक्षी दलले विरोध गरेका छन्। भारतको उत्तर–पूर्वि राज्यका नागरिक पनि यसको विरोधमा उत्रिएका हुन्।
विरोध हुन थालेपछि सरकारले असामलगायतका विभिन्न राज्यमा इन्टरनेट सेवा बन्द गरेको छ। केही मुख्यमुख्य शहरमा कर्फ्यूसमेत लगाएको छ।
तथापि, स्थानीय वासिन्दा सडकमा ओलिएका छन्। उनीहरु शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्। ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। केही शहरमा गाडीमा समेत आगजनी गरेका छन्।






