कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक
संसदीय दलको बैठकपछि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूसँग बसेर पत्रकार धरपकड र न्यायालयसँग जोडिएका विषयमा थप छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने बताए।
काठमाडौं, कात्तिक १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ।
सोमबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि कांग्रेसले दिउँसो १ बजेका लागि विपक्षी दलहरूको बैठक बोलाएको हो।
संसदीय दलको बैठकपछि प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूसँग बसेर पत्रकार धरपकड र न्यायालयसँग जोडिएका विषयमा थप छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने बताए।
पत्रकार पक्राउ र न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। त्यसका लागि तत्काल संसद् बैठक बोलाउन पनि कांग्रेसले माग गरेको छ।
कांग्रेस संसदीय दलको बैठकले पत्रकारलाई समाचार संकलन र प्रकाशन गरेकै आधारमा पक्राउ गर्ने तथा सञ्चारगृहभित्रै प्रहरी परिचालन गर्ने कार्य विधिको शासन र प्रेस स्वतन्त्रताविपरीत भएको निष्कर्ष निकालेको छ।
बैठकपछि जारी विज्ञप्तिमा पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वेच्छाचारिता भएको उल्लेख छ।
कांग्रेसले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरेको छ। त्यस्ता घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उसको माग छ।






