फिल्म ‘हिजोआजका कुरा’ आजबाट प्रदर्शनमा

काठमाडौं, असोज २८ : फिल्म ‘हिजोआजका कुरा’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएको छ।
अभिनेता सन्तोष पन्तद्वारा निर्मित र उनकै छोरा साकार पन्तद्वारा निर्देशित फिल्म पारिवारिक कथावस्तुमा आधारित छ। कमेडीमा विधामा बनेको फिल्ममा सन्तोष पन्त, ऋचा शर्मा, रिमा विश्वकर्मा, केकी अधिकारी, रमा थपलिया, दिव्य देव, जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्कीलगायतको अभिनय छ।
पन्त फिल्म प्रोडक्सनले बनाएको २ घन्टा २८ मिनेट लामो यो फिल्ममा वर्तमान नेपाली समाजको अवस्था, पारिवारिक आरोहअवरोह, विदेश मोहलगायत विषयलाई चित्रण गरिएको छ। फिल्मको कथा निर्माता पन्तको र पटकथा सन्दीप किस्नाको रहेको छ।
नेपालमा १२ वर्ष नेपाल टेलिभिजनमा प्रसारण गरिएको टिभी सिरिजकै नाममा यो फिल्मको नामकरण गरिएको हो।
योसँगै अन्य चार विदेशी फिल्म पनि प्रदर्शनमा आएका छन्। भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शनमा आएका हुन्।












