कति घातक छ क्षयरोग, कसरी बच्ने?
परिवारको एक जना सदस्यलाई क्षयरोग लागेमा हाछ्यौं गर्दा वा खोक्दा हावाद्वारा परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुनसक्छ सक्ने हुदा निकै त्यसैले निकै सावधानी अपनाउनुपर्छ।क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरियाबाट लाग्छ। यसले शरीरको जुनसुकै अंगमा सक्रमण गर्न सक्छ। प्रायः नेपाल जस्तो अविकसित देशका धेरै मानिसमा यो ब्याक्टेरिया सानै उमेरमा नै शरीरमा प्रवेश गरिसकेको हुन्छ।
यसरी सानैमा शरीरमा ब्याक्टेरिया प्रवेश गरेको भए पनि धेरैमा रोग लागेको भने हुदैन। तर, केही प्रतिशत मानिसलाई उमेर बढ्दै जाँदा कुनै कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने वा लामो समय कुनै रोगले थला परियो भने क्षयरोग पनि आक्रमण गर्छ। विशेष गरेर फोक्सोमा संक्रमण हुन्छ।
क्षयरोग लाग्ने कारण
हाम्रो शरीरमा माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको संक्रमण भएपछि क्षयरोग लाग्छ। यो ब्याक्टेरिया शरीरमा प्रवेश गरेपछि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र रोगका लक्षण देखिन्छन्।
यसका अतिरिक्ति पोषणको अभावले पनि क्षयरोग लाग्छ। त्यस्तै, बढी जनघनत्व भएको स्थानमा बसोबास गर्दै आएका मानिसमा पनि क्षयरोग लाग्ने उच्च सम्भावना रहन्छ।
क्षयरोगका लक्षण
शरीरको जुन भागमा क्षयरोग संक्रमण हुन्छ, त्यहि अनुसारको लक्षण देखा पर्ने गर्छ। फोक्सोमा संक्रमण भएको छ भने खोकी लाग्ने, खकारमा रगत देखापर्ने जस्ता लक्षण देखिन्छन्।
त्यस्तै, क्षयरोग भएका बिरामीको घाँटीमा गाठाहरु देखिने, ज्वरो आउने, खलखली पसिना आउने, दुब्लाउँदै जाने र थकान महशुस हुने जस्ता लक्षण पनि देखिन्छन्।
कसरी सर्छ क्षयरोग?
क्षयरोग मुख्यतया श्वासप्रश्वास र हावाबाट सर्ने रोग हो। यदि परिवारको एक जना सदस्यलाई क्षयरोग लागेमा हाछ्यौं गर्दा वा खोक्दा हावाद्वारा परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुनसक्छ सक्ने हुदा निकै त्यसैले निकै सावधानी अपनाउनुपर्छ।
रोगीको ¥याल, खकारमा पनि ब्याक्टेरिया हुन्छन्। जथाभावी खोक्दा अन्य व्यक्तिमा पनि सर्नसक्छ।
कसरी रहने सुरक्षित?
परिवारका कुनै सदस्यलाई लामो समयदेखि खोकी लागेको छ भने समयमै अस्पताल गएर उपचार गराइहाल्नुपर्छ। रोग पुष्टि भएपछि विरामीले मास्कको प्रयोग गर्नुपर्छ।
क्षयरोगको उपचार भएको एक–दुई सातासम्म पनि अरुलाई सर्नसक्ने सम्भावना हुन्छ। त्यसैले बिरामीको लागि छुट्टै खाने र बस्ने व्यवस्था मिलाउन आवश्यक हुन्छ।
उपचार
नेपालमा रोग लागेर खकारबाट रगत देखिन थालेपछि मात्रै बिरामीलाई अस्पताल लग्ने गरिन्छ। रोग बल्झिँदै गएपछि औषधीले पनि काम नगर्ने हुन सक्छ। त्यस्तो अवस्थामा भने मानिसको ज्यानै जान सक्ने खतरा हुन्छ।
सरकारी अस्पतालमा क्षयरोगको निःशुल्क उपचार हुन्छ। यसको औषाधि पनि निःशुल्क पाइने गरेको छ।
क्षयरोगको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ। कतिपय बिरामीलाई एउटै औषधिले काम नगर्न सक्छ। त्यस्तो अवस्थामा तीन–चार प्रकारको औषधिको प्रयोग गरी उपचार गरिन्छ। क्षयरोगीका बिरामीलाई करीब ६ महिना नियमित औषधि दिने गरिन्छ।
कसैलाई रोगको लक्षण नदेखिएको तर शरीरमा किटाणुले संक्रमण गरेको छ भने त्यस्तो अवस्थामा चार थरी औषधि नदिएर एकै थरी दिइन्छ। यस्ता बिरामीले ६ वा नौ महिनासम्म औषधि खानुपर्छ।
नेपाल जस्तो देशमा सामान्य औषधिले काम नगर्ने खालका क्षयरोग पनि देखिएका छन्। यस्तो खालको क्षयरोगलाई कडा खाले क्षयरोग भनिन्छ। सामान्य क्षयरोगका विरामीलाई ६ महिनासम्म औषधि खाँदा निको हुन्छ भने कडा खाले क्षयरोगका लागि बढी समय लाग्छ। सात थरीका औषधि खानुपर्छ।
सामान्य हो की कडा खाले क्षयरोग हो भन्ने पुष्टि नहुँदा चिकित्सकले बिरामीलाई ६ महिनासम्म खानु भनेर औषधि दिन्छन्। तर, औषधिले काम नगर्दा एकातिर बिरामीमा रोग बल्झदै जान्छ भने अर्कातिर परिवारका अन्य सदस्यलाई पनि सर्ने गर्छ।
त्यसैले क्षयरोग उपचारमा वर्षेनी हजारांै मानिसको ज्यान जाने गरेकाले लापरबाही गर्नुहुदैन। क्षयरोगको सामान्य लक्षण देखिने वितिक्कै स्वास्थ्य जाँच गराउन आवश्यक छ। क्षयरोगको औषधि निःशुलक पाइन्छ। कडा खालको क्षयरोग देखिएमा पनि निःशुल्क उपचार हुन्छ। यसका लागि भने सीमित अस्पताल तोकिएका छन्।
(संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको कुराकानीमा आधारित)