दसैं हिन्दुको कि नेपालीको ?
पञ्चायतकालमा हिन्दुहरूको एक मात्र महान् चाड दसैंलाई मानिन्थ्यो। किनकि, त्यतिखेर नेपालमा हिन्दु अधिराज्य थियो। हिन्दु राज्यमा हिन्दुकै बढी प्रचारप्रसार हुन्छ र हुनुपर्छ भन्ने थियो। तर अहिले त्यस्तो अवस्था छैन। त्यसकारण यो नेपालीहरूको महान् चाड हो।असोजमा मनाइने ‘बडादसैं’ मनाइन्छ। दसैं नेपालमा चारपटक मनाइन्छ। दसैं चैत, पुस र असारमा पनि मनाइन्छ। यो भन्दा कतिपय अहिले पनि छक्क पर्लान्। शरद ऋतुको आश्विन शुक्ल पक्षमा मनाइने बडादसैं भने सबै नेपालीले मनाउँछन्।
दसैंमा भनिने ‘विजया दशमी’ भारतबाट आयातित शब्द हो। विजया दशमी भनेको एक दिन मात्रै हो। भारतमा रामले रावणलाई मारेको विजय उत्सवमा दसैं नभएर रामलीला मनाउँछन् तर नेपालमा दसैंमा दुर्गा भवानीको पूजाआराधना गरी मनाउने भएकाले हामीले दसैं मनाउँछौं। दसैंमा महाकाली, महालक्ष्मी, महापार्वतीको पूजा हुन्छ। दशमीको दिन दसैं विसर्जन हुन्छ।
दसैं समाज र संस्कृतिसँग जोडिएको छ। संस्कृतिअनुसार घटस्थापनाका दिन जमारा राख्ने, फूलपातीको दिन दुर्गा स्थापना गर्ने गरिन्छ। दुर्गा स्थापना भनेको पहिलेका खुँडा, खुकुरी, तरबार सिँगारेर स्थापना गर्ने, फूलपाती भिœयाइन्छ। त्यसपछि महाअष्टमी र महानवमीको दिनमा पुराना हतियारमा दुर्गा जगाउने, खाँडो जगाउने र दशमीको दिनमा देवी विसर्जन गर्दै टीका र जमरा लगाउने चलन छ।
दसैंमा मावली–ससुराली जानु, मान्यजनकहाँ गएर टीका थाप्नु आशीर्वाद लिनु, विदेश गएकाहरू घर आउनु, सबैसँग भेटघाट हुनु, सुखदुःख साटासाट हुनु आदि सामाजिक पक्ष हुन्। सबैजना भेट भएको बेलामा रमाइलो हुन्छ, दुःखासुखका बातचि हुन्छन्, जसबाट आत्मीयता प्रगाढ हुन्छ, सम्बन्धहरूको नवीकरण हुन्छ। यस्ता सामाजिक र सांस्कृतिक पक्षले दसैंलाई झनै महान् बनाएको छ।
दसैंमा किन खाइन्छ मासुभात?
दसैंलाई मासुभात खाने पर्व पनि भनिन्छ। यसको पनि आफ्नै पहिचान छ। यो किन भनिएको हो भने मान्छे वर्षाभरि पानिमा भिजेको छ। हिलोमा चोपलिएको छ।
शरीरले पनि धेरै कसरत गरेको छ। कतिका मांशपेसीहरू कुँजिएका हुन्छन्। नसा कुँजिएको हुन्छ। यो समयमा धान, कोदो रोपी गोडमेल गरी आराम गर्ने समय मिलेकाले खुसी हुँदै मासुभात खाइन्छ।
अझै गुरुङहरूको त हिमाल नुहाएर आएको भेडाको मासु खाने चलन छ। उच्च हिमाली क्षेत्रमा भेडीगोठ हुन्छ। त्यहाँका भेडाले यार्सालगायत जडीबुटी खाएका हुन्छन्। भेडाको मासु खाए त्यो यार्साको रस मान्छेको शरीरमा जाने भएकाले भेडाको मासु खाने गरिन्छ।
मासुभात खाएपछि लिंगे पिङ खेल्नुपर्छ। यसको अर्कै वैज्ञानिक भनाइ छ। पिङ खेल्दा शरीरमा कुँजिएका नसा र मांशपेशीहरू क्रियाशील हुन्छन्। मुटुको गति बढ्छ। यसमा पनि आफैंले मच्चाएर पिङ खेल्दा झनै फाइदा हुन्छ। खुम्चिएका नसा, कुँजिएका ग्रन्थीहरू पिङ खेलेपछि तानिन्छन्। शरीरका लागि यो राम्रो हुन्छ।
दसैं हिन्दुको कि नेपालीको ?
बडादसैं हिन्दुको मात्रै नभई नेपालीको महान् चाड हो। तर पञ्चायतकालमा त हिन्दुहरूको एक मात्र महान् चाड भनिन्थ्यो किनकि त्यतिखेर नेपाल हिन्दु अधिराज्य थियो। हिन्दु राज्यमा हिन्दुकै बढी प्रचारप्रसार हुन्छ र हुनुपर्छ भन्ने थियो। तर अहिले त्यस्तो अवस्था छैन। त्यसकारण यो नेपालीहरूको महान् चाड हो।
अहिले नेपालीको महान् चाड भन्ने गरेको सुनिन्छ। राई, लिम्बूलाई हिन्दु भन्ने कि के भन्ने? गुरुङ, मगरहरूलाई के भन्ने? यो हिन्दुहरूको मात्रै होइन। नेपालीहरूको चाड हो भन्ने कुरा भयो। नेपाललाई संविधानले पनि धर्मनिरपेक्ष राज्य भनेको छ।
नेपालका प्रमुख सप्तपीठहरूमा बज्रयानीतन्त्रअनुसार पूजा हुन्छ। बज्राचार्य हिन्दु त होइनन्। राई, मगर, गुरुङ हिन्दु होइनन् तर संस्कार मान्ने गर्छन्। धेरैजसो शक्तिपीठमा थारू, मगर, गुरुङ नै पुजारी छन्। त्यसैले दसैं हिन्दुहरूको नभई नेपालीहरूको नै महान् चाड हो।
बढ्दो विकृति
मुख्य कुरो त हरेक चाड विधिपूर्वक हुनै छाडिसके। यसलाई विकृति भन्ने कि के भन्ने ? अहिले गाउँमा मान्छे सहरबजार गए। कहाँ जमारा राख्ने? कहाँ बोकाको बलि दिने, कहाँ के गर्ने ? यस्तो समस्या हुन्छ। जमारा राख्नेहरूले त राख्छन् तर विधिअनुसारको जमरा हुँदैन।
म सानैमा हुँदाको दसैं र अहिले मेरा छोराहरूले मनाउने दसैंमा पनि फरक छ। पहिले गाउँका क्षत्री–बाहुन रातभरि लम्बरी भजन गाउँथे। अहिले यो चलन हरायो। अहिले विधिविधान केही छैन। नौ दिनसम्म दमाह बज्नुपर्छ। दसैं मान्नुपर्छ भन्यो, तास खेल्यो। रक्सी खायो, बस्यो। दसैं मनाउने यसरी होइन।
बलि हिंसा हो?
पछिल्लो समय राँगा, बोकाको बलि चढाउनुहुँदैन भन्ने कुरा पनि उठिरहेको छ। कुरा आउँछ मान्छेले मासु खाने कि नखाने? मासु खाने हो भने बलि पनि दिनुप¥यो। मासु नखाने हो भने नदिए पनि भयो।
यो बेला पूजामा मात्रै होइन, अरू ठाउँमा पनि बध गर्नुभएन। अहिले धेरैले बलि दिन मासु खान पनि छाडे तर दसैंमा काटिने राँगा, बोका, कुखुरा, हाँस, भेडा, च्यांग्रा भगवान्का रूपमा अर्पण गर्ने मासु प्रसादका रूपमा खाने हो।
(डा. गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन्)