विजया दशमी अर्थात् रातो, कालो र सेतो टीकाको संगम
अधिकांश नेपालीको सबैभन्दा ठुलो चाडका रूपमा रहेको बडादसैंको खास महत्व बोकेको दिनका रूपमा विजया दशमीलाई लिइन्छ।काठमाडौं, असोज १९ : आज बडादसैंको मुख्य दिन विजया दशमी हो। अधिकांश नेपालीको सबैभन्दा ठुलो चाडका रूपमा रहेको बडादसैंको खास महत्व बोकेको दिनका रूपमा विजया दशमीलाई लिइन्छ।
यो दिनको प्रमुख आकर्षण भनेको टीका हो। यो दिनमा राम्रो लगाउने र मीठो खाने अनि आफ्ना मान्यजनका हातबाट टीकाजमरा लाएर आशीर्वाद थाप्ने परम्परा छ ।
यो वर्ष दसैंको टीकाको शुभ साइत ११ बजेर ५१ मिनेट जाँदा जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठकले उक्त साइत जुराएको हो।
टीकाको दिनमा आफ्ना मान्यजनका हातबाट टीका लगाएर आशीर्वाद ग्रहण गरी घटस्थापनामा रोपिएको जमरा लगाउने चलन छ। १५ दिन मनाइने दसैंको मुख्य दिन विजया दशमीमा बहुमत हिन्दु धर्मावलम्बीले नवदुर्गाको प्रसादका रूपमा रातो टीका ग्रहण गर्छन् र समृद्धिको प्रतीक जमरा लगाउँछन् मनाउँछन्।
नेवार समुदायले दसैंलाई मोहनीका रूपमा मनाउँछन्। उनीहरू आफ्नो सुस्वास्थ्यको कामना गर्दै कालो टीका लगाउँछन्, जसलाई मोहनी भनिन्छ। यो नेवार समुदायमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको छ।
देशको पूर्वतिर भने किरात (राई, लिम्बू, सुनुवार र हायु) र अन्य आदिवासी जनजाति समुदाय (मगर, तामाङ, थारू, गुरुङ आदि) ले सेतो टीका लगाउने चलन पनि कतैकतै भेटिन्छ।
संस्कृतिविद् कृष्णराज सर्वहारीले सेतो रंग शान्तिको प्रतीकका रुपमा लिने गरेको बताए । पहिलेपहिले रंग नभएर पनि सेतो टीकाबाट शुरुवात भएको हुन सक्ने उनी बताउँछन्। ’पहिले ब्ल्याक एन्ड ह्वाइट जिन्दगी। हाम्रो पोशाक पनि सेतो हुन्छ। पगरी, जामा, भोटोसबै सेतै देखिन्छ,’सर्वहारीले भने।
कतैकतै पहेंलो टीका लगाउने चलन पनि नभएको होइन।
नेपाल कतै विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ भने कतैकतै थप पाँच दिन अर्थात कोजाग्रत पूर्णिमासम्म टीका लगाउनेगरिन्छ। तर जसले जति दिन टीका लाए पनि आफ्ना मान्यजनको हातबाट टीकाजमरा थाप्न आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म कुनै साइत हेरिरहनु पर्दैन।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।