अबको गुठी विधेयक सहमतिको दस्तावेज हुन्छ : मन्त्री अर्याल
काठमाडौं, मंसिर २४ : सरकारले नयाँ भूमि विधेयकका विषयमा छलफल सुरु गरेको छ।
गुठीसहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका निम्ति ....

काठमाडौं, मंसिर २४ : सरकारले नयाँ भूमि विधेयकका विषयमा छलफल सुरु गरेको छ।
गुठीसहितको नयाँ एकीकृत भूमि विधेयक ल्याउनका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गुठीसँग सम्बन्धित सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको हो।
सरोकारवाला तथथा विज्ञको सुझाव सुनेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब आउने भूमि विधेयक सरकार, सरोकारवाला र गुठीयारबीचको सहमतिको साझा दस्ताबेज हुने बताइन्।
स्थान, क्षेत्र, ठाउँ विशेषअनुसार गुठीको पनि फरक-फरक विशेषता र समस्या रहेको भन्दै मन्त्री अर्यालले सबैको सुझावको सम्मान गरिने बताइन्।
'सबैको सुझावको सम्मान गर्छौं। अब आउने गुठी कानून गुठीयारा र सरोकारवालाहरूले चाहेकै कानून हुनेछ', मन्त्री अर्यालले भने,'सरकार सरोकारवाला र गुठीयाराको सहमतिको दस्तावेजका रुपमा अबको गुठी सम्बन्धी कानून आउँछ। यसमा सबै सरोकारवाला र विज्ञहरूको सुझाब समेटिन्छ।'
मन्त्री अर्यालले विभिन्न चरणमा छलफल गरिसकेपछि सार्वजनिक सूचना माग गरेर समेत गुठी विधेयकबारे सुझाव माग गरिने बताइन्।











